वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु-मुग्लिन क्षेत्रमा बिहीबार राति पहिरो गएर सडकमा अवरोध पुगेपछि राजमार्गमा यातायात साधन गुड्न पाएका छैनन्।
धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङखोला र तिकराङमा सडक माथिबाट पहिरो खसेर राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए।
राजमार्गको सडक माथिबाट ठाउँ-ठाउँमा पहिरो खसेर अवरूद्ध भएको प्रहरीले जनाएको छ।
वर्षा जारी रहेकाले पहिरो हटाउनसमेत समस्या भएको छ। गल्छी गाउँपालिकाको बेरैनीमा सडक माथिबाट लेदो बगेर बाटो बन्द भएको छ।
राजमार्गमा पहिरो हटाउन ठाउँ-ठाउँमा डोजर राखिएको र पहिरो आउने बित्तिकै हटाउने गरिएको जिल्ला प्रहरी प्रमुख खड्काको भनाइ छ।
अबिरल वर्षाका कारण मलेखु, ताल्ती, बेल्खु खोलामा ठूलो बाढी आएकाले खोला छेउमा बसिरहेका केहीले घर छाडेर सुरक्षित ठाउँमा गएका छन्।रासस