मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुबानमा परेका छन्।
असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरूबाट पानीको सहज निकास नहुँदा ती बस्ती डुबानमा परेका हुन्।
वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरूमा पनि पानी छिरेको छ।
प्लाष्टिकजन्य फोहोरहरू सडक र नालामा फाल्ने गरिएको कारण नाला जाम हुने गरेको छ।
अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर बस्ती डुबानमा परेका छन्।
नदी र खोलाको बाढीले केही स्थानमा खेतीयोग्य जमिनसमेत कटान गरेको छ।
वर्षाको भेलका कारण पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रम्हानगर, नयाँबस्ती, निर्मलबस्ती, मिलन चौक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चौक, सुन्दर टोल, टयाङ्ग्रेलाइनलगायत बस्तीहरू डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ।
यसैगरी हालसालै निर्माण भएको हुलाकी सडकभन्दा होचो स्थानमा रहेको उत्तरतर्फका अधिकांश बस्ती डुबानमा परेको भए पनि कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक ब्रहमदेव साहले बताए।
उनले बाढी पहिरोको जोखिममा रहेका बस्तीमा सुरक्षाकर्मीहरूले तदारूकताका साथ खटिने गरेकाले अहिलेसम्म कुनै पनि मानवीय क्षतिको घटना हुन नसकेको बताए।
लगातारको अविरल वर्षाका कारण ओरिया खोलामा आएको बाढीले वीरगञ्ज ठोरी हुलाकी सडकखण्डको गोपी बस्ती नजिकै सडकलाई क्षति पुर्याएको छ।
हुलाकी सडक जोगाउन निर्माण गरिएको तटबन्ध बाढीले भत्काएकाले सो क्षति हुन गएको हो।
सो खोलाको बाढीले ठोरी गाउँपालिका-१ देखि ४ सम्ममा क्षति पुर्याएको छ भने सडक सम्पर्क विच्छेद भएपछि स्थानीयबासीलाई आवतजावतमा समस्या परेको स्थानीयबासी सञ्जय कुमारको भनाइ छ।
यसैगरी धोबिनी गाउँपालिकाको हरिहरपुर, बखरी, लङ्गडी, आसवारी, जगरनाथपुर गाउँपालिकाको मधुबासा, झाखरा, मसियानी, छिपहरमाई गाउँपालिकाको भिस्वा, जयमङ्गलपुर, झलमैहिया, मिर्जापुर, बघमरी, टिहुकी, बुडगाई, भुलुवाहीलगायत दर्जनौं गाउँ डुबानमा परेको छ भने त्यहाँका स्थानीयबासीलाई एक गाउँबाट अर्को गाउँसम्म जान समस्या परेको छ।
यसैगरी बाढीका कारण पर्साको जीराभवानी गाउँपालिका-१ पिपराका दर्जनौं घर डुबानमा परेका छन्।
अविरल वर्षाका कारण लाटेगाँडा खोलामा आएको बाढी गाउँमा पस्दा स्थानीयबासी शङ्कर दास, किशुन महतो, जङ्गाली राय, खिचड़ी महतो, शिवशङ्कर दासलगायत १६ जनाको घर डुबानमा परेको हो।
पानीले स्थानीयबासी राजकुमार दास, ब्रहमदेव दास, सनोज दास र महेन्द्र शर्माको फुसको घर भत्किएको इलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ।
बाढीबाट पीडित भएकाले स्थानीय सरकार तथा जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गर्नुपर्ने माग गरेका छन्।रासस