बेलायती राजकुमारहरू विलियम र ह्यारी बिहीबार सँगै थिए। पछिल्लो समय उनीहरूको सम्बन्धमा तिक्तता आएको भनिएका बेला यी दाजुभाइ आफ्नी दिवंगत आमाको सालिक अनावरण गर्न मध्य लन्डनको केन्सिंगटन दरबारमा पुगेका थिए।
उनीहरूकी आमा युवराज्ञी डायनाको सन् १९९७ अगस्ट ३१ मा फ्रान्सको पेरिसमा कार दुर्घटनामा परी निधन भएको थियो। त्यतिबेला विलियम र ह्यारी १५ र १२ वर्षका थिए।
अहिलेसम्म बाँचिरहेकी भए बिहीबार डायनाको ६० औं जन्मदिन हुने थियो। उनको ६० औं जन्मजयन्तीको अवसर पारेर सालिक अनावरण गरिएको हो।
सालिक अनावरणमा विलियम र ह्यारी खुलेर कुराकानी गरिरहेका थिए।
‘बाँचिरहेकी भए आज आमाको ६० औं जन्मदिन हुन्थ्यो। हामी उनको माया, तागत र उनलाई संसारभरि राम्रोको एउटा शक्ति बनाउने विशेषतालाई सम्झिरहेका छौं,’ राजकुमार दाजुभाइले भनेका छन्,‘हरेक दिन हामीलाई आमा हामीसँगै भइदिएको भए हुन्थ्योजस्तो लाग्छ। हामीलाई आशा छ, यो सालिक उनको जीवन र कामको प्रतीक बनेर सधैँ रहिरहने छ।’