पनौती नगरपालिका–८ पाल्पाली गाउँमा विश्वमा दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक भेटिएको छ।
बुधबार राति ९ बजे एक स्थानीयबासीको घर आँगनमा सो सालक भेटिएको धुलिखेलस्थित डिभिजन वन कार्यालयले जनाएको छ।
नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने उक्त सालक बिहीबार पनौती प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमा छाडिएको छ।
पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पाङ्गोलिन’ रहेको वन कार्यालय प्रमुख देवीचन्द्र पोखरेलले बताए। उनका अनुसार नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पाङ्गोलिन’ नै रहेका छन्।
काभ्रेपलाञ्चोकमा भने सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान बजेट अभावका कारण यो वर्ष रोकिएको छ।
बागमती प्रदेश सरकारबाट विगत दुई आवदेखि नियमित आउने बजेट चालु आवमा रोकिएपछि सालकसम्बन्धी थप अनुसन्धान तथा संरक्षण अभियान रोकिएको हो।
संरक्षण अभियानअन्तर्गत डिभिजन वन कार्यालयले सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो।
‘प्रदेश सरकारबाट चालु आवका लागि बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको छ’, पोखरेलले भने।
उनका अनुसार अघिल्लो आवमा बागमती प्रदेश सरकारले रु दुई लाख बजेट विनियोजन गरेको थियो भने गत आवमा रु पाँच लाख पठाएको थियो।
अभियानकै क्रममा सालकको उपयुक्त बासस्थान भएका क्षेत्रका बासिन्दा सालक ‘गुणी’ जनावर भएको जानकारी पाएपछि यसको संरक्षणमा पनि निकै उत्साहित देखिएका थिए।
जिल्लाको कुनकुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको पोखरेलले बताए।
उनले भने, ‘हामीले सालकबारे पाँच वर्षे योजना बनाउने प्रक्रियामा थियौं, बजेट रोकिँदा यसप्रति थप अनुसन्धान र गतिविधि गर्न सकिएन।’
सालकको उपयुक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत शृङ्खलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा दुई वर्षअघि पहिलो चरणको चेतनामूलक कार्यक्रम भएको थियो।
जिल्लाको अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता देखिएको छ।
‘यो मानिसका लागि उपयुक्त जनावर हो, यसले अन्नबालीमा लाग्ने कमिला र धमिरा खान्छ, पर्यावरणलाई जोगाउन मद्दत पुर्याउँछ, मानिसलाई भने आक्रमण गर्दैन’, पोखरेलले थपे।
उनका अनुसार सालकमा १५ सेन्टिमिटर टाढाका किरा सासले तानेर खान सक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ।
अध्ययन प्रतिवेदनअनुसार एउटा वयस्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ।
प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वाभावको जनावर सालक विशेषगरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ।
दुर्लभ सालक जिल्लामा कति छ भन्ने कुनै स्पष्ट तथ्याङ्क नभए पनि कालो सालक खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुङ्खर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको उसको बासस्थानबाट देखिएको अनुसन्धानबाट खुलेको छ।
बल्थलीस्थित समुदायमा आधारित चोरी–शिकारी नियन्त्रण इकाइका अध्यक्ष विष्णुप्रसाद हुमागाईंले स्थानीय आठवटा सामुदायिक वनमा अध्ययन गर्दा जमीनमा ५४२ वटा प्वाल भेटिएकामध्ये पुरानो ३२३ र नयाँ २१९ प्वाल रहेको जानकारी दिए।
उनले भने, ‘नयाँ प्वालको सङ्ख्या कमी देखिँदा सालक लोप हुने अवस्थामा जाँदैछ भन्ने बुझिन्छ, हामी सालक तस्करीविरूद्ध विशेष निगरानी गर्दै आएका छौं।’
उनका अनुसार एकाइले गत वर्ष स्थानीय २५० स्कुले विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गराइएको थियो भने एकाइकै पहलमा काठमाडौं विश्वविद्यालयका विद्यार्थीले पनि उक्त क्षेत्रमा सालकको अनुसन्धान गरेका थिए।
विश्वभर एशिया र अफ्रिकामा आठ प्रजातिका सालक पाइन्छन्, त्यसमध्ये चार प्रजातिका सालक एशियामा मात्रै पाइन्छ। एशियामा पाइने चार प्रजातिका सालकमध्ये नेपालमा तामे र कालो सालक पाइने पोखरेलले जानकारी दिए।
उनका अनुसार यसको प्राकृतिक प्रजनन पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा ठूलो सहयोग गरिरहेको छ।
सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेका कारण नेपालबाट यसको तस्करी हुने गरेको घटनाक्रमले देखाएको छ।
वन संरक्षण ऐनअनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, रु पाँचदेखि १० लाखसम्म जरिवाना तथा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
पाँच वर्षअघि वन विभागको स्वीकृतिमा नेपाल ग्रामीण विकास तथा वातावरण संरक्षण परिषद् भक्तपुरले काभ्रेपलाञ्चोकका सामुदायिक वनमा सालकको अनुसन्धान गरेको थियो।
संरक्षित जनावरमध्येको नेपालमा पाइने कालो सालकको वनमा रहेको प्राकृतिक बासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुन सक्ने अवस्था देखिएको अनुसन्धानकर्ता प्रतिभा कसपाल बताउँछन्।
उनी भन्छन्, ‘नेपालमा दुर्लभ कालो सालक अति सङ्कटापन्न अवस्थाको सूचीमा छ।’रासस