निरन्तरको वर्षातसँगै झरेको पहिरोका कारण अवरूद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
विभिन्न स्थानमा खसेको पहिरो पन्छाएसँगै आज बिहान ९ः१० बजेदेखि एकतर्फी रूपमा सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका अनुसार पहिरोका कारण रोकिएका सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाउने क्रम सुरू भएको छ।
चारकिलो, पाँचकिलो, जलबिरे, सेती दोभानमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको हो।
सो सडक क्षेत्रमा बिहीबारदेखि पटक-पटक पहिरो खस्ने र पन्छाउने कार्य जारी छ।
पहिरोका कारण बिहीबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्रै सञ्चालनमा आएको सो सडकखण्ड दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने कार्यालयले जनाएको छ।
नारायणगढ-मुग्लिन सडक खण्डमा पटक-पटक झरेको पहिरोका कारण यातायात सेवा अवरूद्ध हुँदै यात्रुहरू अलपत्र परेका छन्।रासस