मेची प्रादेशिक अस्पतालमा अक्सिजन उत्पादन सुरू हुने भएको छ। यसका लागि अस्पतालमा दैनिक ३५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ।
अबको दुई दिनभित्र प्लान्ट जडान गर्ने कार्य सम्पन्न हुने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको र त्यसलगत्तै अक्सिजन उत्पादन सुरू गरिने अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए।
उनका अनुसार प्रदेश नं. १ सरकारको रु. एक करोडको सहयोगमा सो प्लान्ट निर्माण भएको हो।
प्लान्ट खरिदमा रु. ५५ लाख खर्च भएको र बाँकी रकम त्यसका लागि कोठा निर्माण तथा सिलिन्डर खरिदलगायतमा खर्च गरिने छ।
झापामा निजी क्षेत्रका ठूला अस्पताल सञ्चालनमा रहे पनि त्यसले अक्सिजन प्लान्ट बनाएका छैनन्।
अक्सिजन प्लान्ट बनाउनेमा मेची अस्पताल पहिलो स्वास्थ्य संस्था हो।
अस्पतालले असार मसान्तभित्र सिटी स्क्यान मेसिन समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ।
सिटी स्क्यान सञ्चालनका लागि सरकारले रु. ६ करोड सहयोग गरेको छ।
हाल पाँच वटा मिर्गौाला डायलासिस मेसिन रहेको अस्पतालले चालू आर्थिक वर्षभित्रै थपेर १५ वटा पुर्याउने र छुट्टै भवनमा सञ्चालन गर्ने अध्यक्ष पोर्तेलको भनाइ छ।
साविक मेची अञ्चलको सबभन्दा ठूलो सरकारी अस्पतालको रूपमा रहेको भद्रपुरको मेची अस्पतालले झापा, इलाम, पाँचथर र ताप्लेजुङका बिरामीलाई उपचार सेवा पुर्याउँदै आएको छ।
नयाँ भवनमा सञ्चालन हुन थालेपछि एकैपटकमा ४५ जना मिर्गौला रोगीलाई डायलासिस सेवा पुर्याउन सकिने उनको भनाइ छ।रासस