युक्रेनको रक्षा मन्त्रालयले एउटा विवादास्पद निर्णय गरेको छ।
जसकारण अहिले मन्त्रालयको आलोचना भइरहेको छ। अगष्टको २४ तारिखमा युक्रेनले ३०औं स्वतन्त्रता दिवस मनाउँदैछ। त्यसका लागि युक्रेनी सेनाले परेडको तयारी गरिरहेको छ। अहिले त्यसको अभ्यास जारी नै छ।
त्यसैबीच रक्षा मन्त्रालयले महिला सैनिकहरूलाई हाई हिल्स लगाएर परेडमा उतार्ने निर्णय गरेको हो। मन्त्रालयले अभ्यासका केही तस्वीरहरू सार्वजनिक गरेको छ।
जसमा महिला सैनिकहरूले कालो हाई हिल्स लगाएर परेड गरिरहेको देखिन्छ।
तस्वीरहरू सार्वजनिक भएपछि युक्रेनमा तरंग आएको छ। सासंदहरूले मन्त्रालयको निर्णयमा आपत्ति जनाएका छन्। विपक्षी दलका सांसदहरूले यसलाई लैंगिक विभेद भएको बताएका छन्।
'सुरूमा पूर्वअभ्यासमा महिला सैनिकले सेनाको कपडामा हाई हिल्स लगाएको तस्वीर अफवाह मात्रै भएको सोचेको थिएँ,' सांसद इरिना गेराशचेले भनिन्।
पूर्वमहिला सैनिकहरूले पनि यस निर्णयमा आपत्ति जनाएका छन्।
पूर्वसैनिक मारिया बर्लिंस्काले भनिन्,'परेडमा सेनाको वीरताको प्रदर्शन हुनपर्छ, तर यो दर्शकको सिटमा बस्ने वरिष्ठ सैन्य अधिकारीहरूलाई खुसी बनाउनमात्रै गरिएको हो।'