४७ वर्षीय झुपलाल खड्काले तुलसीपुरमा पसल सुरू गर्दा धेरै तरकारी नजिकैको भारतबाट आउँथ्यो। तरकारी पसले पनि धेरैजसो भारतीय नै थिए।
‘नेपालमा व्यापार गर्थे जम्मै पैसा उतै जान्थ्यो,’ उनले भने।
स्थानीयसँग चिनजान भएका कारण उनकैमा भिड लाग्न थालेको थियो।
‘बसपार्क जाने पश्चिमकै रोडछेउ रोजेर मैले उखितेर तरकारी पसल सुरू गरेको थिएँ,’ उनले भने, ‘सुरूदेखि नै पसल चल्यो।’
त्यो समयमा तुलसीपुरमा अहिलेजस्तो सब्जीमण्डी थिएन।
नगरपालिका नजिकको खाली जग्गामा झुपलालले त्यतिखेर दैनिक एक-दुई सयको साग, धनियाँ राखेर व्यापार गर्ने गरेको बताए।
व्यापारीले घचघच्याएपछि दुई वर्षपछि नगरपालिकाले आफ्नो कार्यालय नजिकैको जग्गामा सब्जीमण्डी राख्न दियो।
टहरा व्यापारीहरू आफैंले बनाए। झुपलाल सब्जीमण्डी व्यवस्थापन समितिका सचिव भए। अहिले पनि उनी तुलसीपुर तरकारी तथा फलफूल कृषि उपज बजारको सचिव पदमै छन्।
२०५७ साल कात्तिक २२ गते झुपलाल पनि नयाँ सब्जीमण्डीमा सरे। त्यहाँ व्यापार झन् राम्रो हुँदै गयो।
त्यो समयमा तुलसीपुर क्षेत्रमा व्यावसायिक रूपमा तरकारी खेती गर्ने किसान थिएनन्। घरायसी खपतका लागि तरकारी उत्पादन हुन्थ्यो।
झुपलालका अनुसार उतिखेर बजारमा लगेर तरकारी बिक्री गर्नु लाजको विषय मान्ने गलत प्रचलन थियो।
‘फलानो त आज बारीको तरकारीसमेत लगेर बजार बेच्न गयो नि, घरमा खाने पनि छैन कि, भनेर कुरा काट्ने गलत प्रचलन थियो,’ झुपलालले भने, ‘कहिलेकाहीँ कोही कसैले डोकोमा तरकारी बेच्ने ल्याए पनि फुटकरमा बेच्दथे, मण्डीका व्यापारीलाई दिँदैनथे।'
पहाडी जिल्लाबाट बसाइ सरेर धेरै मानिस दाङ झर्न थाले। तुलसीपुरमा जनसंख्या थपिँदै गयो। तरकारीको माग धेरै बढ्न थाल्यो। माग बढेपछि झुपलाल तरकारी लिन घोराही पुग्थे।
देउखुरी राप्तीको फाँटमा भने त्यतिखेर व्यावसायिक तरकारी खेती सुरू भएको थियो।
घोराहीको सिमल बोटमा हाट बजार लाग्थ्यो। तर, उतिखेर तरकारी लोड अनलोड गर्ने अहिलेजस्ता श्रमिकहरू पाइँदैनथे। व्यापारीले आफैं बोक्नु पर्थ्यो।
‘म जुटका बोराभरि तरकारी आफैं बोकेर बसमा लोड गर्थें,’ उनले सम्झिए।
उनले श्रम गर्न कहिलै सरम मानेनन्। कहिलेकाँही सँगै पढेका साथीहरू भारी बोकेको देखेर फर्किफर्की हेर्दा लाज लागेजस्तो भने हुन्थ्यो रे।
उनको व्यापार फस्टाउँदै थियो, गाउँसहरमा तरकारी खेती बढ्दै थियो।
सल्यानको कपुरकोट अर्को तरकारी बजार थियो।
४/५ सयको तरकारी ल्याए, एक-दुई दिनलाई व्यापार गर्न पुग्थ्यो। गाउँमा सस्तो पाइन्थ्यो। त्यसबाट शतप्रतिशत नाफा निकाल्न सकिन्थ्यो।
‘पच्चीस पैसामा धनियाँ र सागको मुठा आउँथ्यो। एक दुई रूपैयाँमा एक किलो टमाटर पाइन्थ्यो,’ उनले भने।
झुपलाल शान्तिनगर गाउँपालिका-६ का बासिन्दा हुन्। उनले त्यहाँकै श्री गाउँ माविबाट २०५९ सालमा एसएलसी पास गरेका थिए। त्यतिखेर गाउँमा एसएलसी पास एक दुई जना मात्रै हुन्थे। त्यसैले उनीहरूको ठूलो सम्मान हुन्थ्यो।
एसएलसी पास पनि उनले सानो दु:खले गरेका थिएनन्। स्कुल आउजाउ गर्न दैनिक २२ किलोमिटर पैदल हिँड्थे। यातायातको सहज पुहँच थिएन। हुनेखानेहरू मात्रै साइकल, मोटरसाइकल र गाडी चढ्थे चढ्थे। झुपलालको आर्थिक अवस्था कमजोर थियो। जग्गा जमिन धेरै थिएन।
२०५२ सालतिर साना किसान परियोजनाले व्यावसायिक तरकारी खेती कसरी गर्ने? भनेर किसानलाई तालिम दियो।
त्यो तालिमपछि झुपलालका बुवा कुशलरामले आफ्नै ५/७ कठ्ठा जमिनमा व्यावसायिक खेती सुरू गरे।
झुपलालका सात भाइबहिनी थिए। उनीहरूको पढाइदेखि घर खर्चको जोहो त्यसैबाट जुटाउनु पर्थ्यो। परिवारको जेठो सन्तान झुपलालले स्कुलबाहेकको समयमा आमाबुवासँगै खेत बारीमा काम गर्दै विद्यालय शिक्षा पूरा गरे।
एसएलसीपछि झुपलाल घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस पढ्न गए। त्यहीँबाट कमर्स विषयबाट आइकम पूरा गरे।
झुपलाललाई आफूसँगै भाइबहिनीलाई पढाउनुपर्ने दायित्व थियो उनको बिहे पनि भइसकेको थियो। छोरा जन्मिएका थिए।
त्यही रनाहामा उनी देवीपुरबाट २४ किलोमिटर टाढा तुलसीपुरमा डोकोभरी टमाटर आफैंले बोकेर बेच्न आउने गर्दथे।
‘श्रीमतीका लागि चुरा टिका किन्ने पैसा बुवासँग माग्न सरम हुन्थ्यो,’ झुपलालले भने, ‘भर्खरै छोरो जन्मेको हुँदा उसको भविष्यको लागि समेत केही गर्नुपर्छ भन्ने मनमा थियो।’
हुन त उनको भित्री चाहना शिक्षक बन्ने थियो। उनी शिक्षा आयोगको परीक्षा दिएर उत्तीर्ण भएका पनि थिए। तर, पछि आयोगले नै नतिजा निकाल्दै निकालेन।
त्यसपछि झुपलालले फरक बाटो रोजे- तरकारीको व्यापार।
उनीसँग आफैंले उत्पादन गरेको तरकारी आँफै बजारमा लगेर बेचेको अनुभव छँदै थियो।
बुवासँग पाँच सय रूपैयाँ मागेर तरकारीको पसल गर्न तुलसीपुर आए।
एक डोको तरकारी बेच्दा एक दुई सय नाफा कमाए। त्यसैबाट केही पैसा श्रीमती र छोराछोरीको खुसी पूरा गर्न सकिन्छ भन्ने उनलाई विश्वास भयो।
त्यही विश्वासले उनलाई तरकारी व्यापारी बनायो।
झुपलाल आज दैनिक कम्तीमा ५० देखि ६० हजारको तरकारी बेच्छन्। मासिक १५ देखि २० लाखसम्मको व्यापार गर्छन्। त्यसबाट कम्तीमा पनि मासिक दुई लाख रूपैयाँ बचत हुन्छ।
२३ वर्षको अवधिमा उनले तुलसीपुरको मुख्य बजारको मेन रोडमा घरघडेरी, गाडीसहित करोडौंको सम्पत्ति जोडिसकेका छन्।
आज फोनको भरमा किसान उनलई जति पनि तरकारी दिन्छन्।
‘यति वर्षसम्म व्यापार गरेपछि अब हामीलाई नचिन्ने किसान कमै होलान्,’ उनले भने, ‘एक फोनको भरमा अब जति पनि तरकारी पसलमै आइपुग्छ।’
किसानले उधारोमा दिने तरकारी बेचेरै आज आफूले आम्दानी गरिरहेको उनले बताए।
२५ क्विन्टल जति तरकारी पसलबाटै बिक्री गर्छन्। त्यो बाहेक बाहिरी जिल्लाहरूमा होलसेलमा दैनिक ५०/६० क्विन्टल तरकारी पठाउने गरेको उनले बताए।
झुपलालको व्यापार अन्य सहरसम्म फैलिएको छ। सल्यानदेखि दाङ हुँदै, चितवन, बुटवल, पोखरा, बाँके, काठमाडौंसम्म उनी दिनहुँ तरकारी पठाउने गर्छन्।
झुपलाल आफू र परिवार दिन रात खटेर आजको अवस्थामा आइपुगेको बताउँछन्। आज पनि आफू र श्रीमती दिन रात खट्ने गरेको उनले बताए। ‘अझै पनि म राति ११ बजेसम्म तरकारी बेचिरहेको हुन्छु र बिहान ४ बजे उठेर पसल गइसक्छु,’ झुपलालले भने, ‘तरकारी व्यापारीले दुःख र मेहनत त गर्नैपर्छ।’
तरकारीको व्यापार सुरू गरेपछि झुपलाललाई कहिलै पछाडि फकर्नुपर्ने परेको छैन।
‘तरकारीको पसल सुरू गरेपछि फेरि मलाई अर्को बाटो खोज्नु परेन,’ उनले भने, ‘मेरो दिमागमा विदेश जाने सोच कहिलै पलाएन।’
अधिकांश समय झुपलाल आफैं पसलमा बस्छन्। उनलाई श्रीमतीले पनि उत्तिकै सघाउँछिन्।
पहिलेभन्दा अचेल दाल चामलजस्तै गरी तरकारीको खपत हुन थालेको उनको अनुभव छ।
‘आज तुलसीपुर बजारमा मैले नसोचेकै तरकारीको खपत भइरहेको ठान्छु,’ उनले भने, ‘आज मानिसहरू धेरै बुझ्ने भएजस्तो लाग्छ, भात, रोटीभन्दा तरकारी धेरै खान थालेका छन्।’
व्यापारमा लागेपछि थप पढ्न नपाएका भने उनलाई थकथकी छ। त्यसैले, छोराछोरीले चाहेजति पढुन् भन्ने उनलाई लाग्छ।
पढ्न नपाए पनि तरकारी व्यापारका कारण आफूले धेरै कुरा सिक्न र बुझ्न पाएको उनले बताए।
‘यो २३ वर्षको अवधिमा मैले थुप्रै मानिसहरू पढ्न पाएको छु,’ उनले भने, ‘व्यवहारिक रूपमा मान्छे पढ्नु पनि ठूलो शिक्षा हो भन्ने मलाई लागेको छ।’
आफूहरूले स्थानीय किसानलाई व्यावसायिक खेतीमा लाग्न उत्प्रेरित गर्दै आएको उनले बताए।
पछिल्लो समय तुलसीपुर र आसपासका क्षेत्रमा थुप्रै व्यावसायिक रूपमा तरकारी खेती गर्ने किसानको संख्या थपिँदै गएकोमा झुपलाल खुसी छन्।
धेरै पढेलेखेका युवाहरू पनि व्यावसायिक तरकारी तथा फलफूल खेतीमा लाग्न थालेको देख्दा झनै खुसी छन्।
‘स्मार्ट र पढे लेखेका युवा कृषिमा आकर्षित हुनु खुसीको कुरा हो,’ उनले भने, ‘त्यस्ता युवाको प्रवेशले कृषि सम्भव हुनसक्छ र बिचौलियाको भूमिका थप कमजोर हुने छ।’
उनलाई चिन्ता पनि किसानहरूकै छ। भारतबाट सस्तोमा तरकारी आउँछ।
यहाँका किसानले सस्तोमा बेच्न सक्दैनन्। कम्तीमा लगानी उठाउँदा पनि भारतबाट आउने तरकारीभन्दा महंगोमा बेच्नुपर्छ। भारतबाट सस्तो मूल्यमा आउने तरकारी तथा फलफूलले नेपाली किसान मर्कामा परेको हुँदा त्यसबारे राज्यले स्पष्ट नीति बनाउन जरूरी रहेको उनको भनाइ छ।