बेलायतको क्यान्टबरी सहरको एक चिडियाखानामा रहेका १३ वटा हात्तीलाई अफ्रिकी मुलुक केन्याको जंगलमा पठाइने भएको छ।
समाचार पत्र द गार्डियनका अनुसार चिडियाखानामै जन्मे/हुर्केका सुभ्याना हात्तीको बथानलाई फेरि जंगली जीवनमा फर्काउन केन्या पठाउन लागिएको हो।
उनीहरूलाई ठूलो जहाजमा राखेर ७ हजार किलोमिटर टाढाको केन्या पुर्याइनेछ।
लोपोन्मुख प्रजातिको यो हात्तीलाई अस्पिनल फाउन्डेसन, द केन्या वाइल्ड सर्भिस र सेल्ड्रिक वाइल्डलाइफ ट्रस्टले स्थानान्तरण गर्न लागेका हुन्।
उनीहरूलाई ठ्याक्कै कहिले जहाज राखेर केन्या लगिनेछ भन्ने मिति तोक्न बाँकी छ। अधिकारीहरूले यस कार्यका लागि दक्षिण अफ्रिकी विशेषज्ञको सहायता लिने जनाएका छन्।
जहाजमा चढाउनुअघि हात्तीलाई ठूलो क्यारेटमा राखिनेछ। यात्राका क्रममा अप्ठेरो नहोस् र बानी लागोस् भनेर केही समय त्यसरी क्यारेटमा राख्न लागिएको हो। पछि त्यही क्यारेटसहित हात्तीलाई जहाज चढाइनेछ। यात्राका क्रममा विज्ञहरूले हात्तीको अवस्था निरन्तर अवलोकन गर्नेछन्।
केन्या पुर्याइसकेपछि पनि संरक्षणकर्मीहरूले ६ महिनासम्म हात्तीको निगरानी गर्नेछन् र उनीहरूलाई निश्चित ठाउँमा राखिनेछ। त्यतिञ्जेलसम्म हात्तीले नयाँ स्थानमा आफूलाई सहज बनाएपछि उनीहरूलाई जंगलमा छोडिनेछ।
केन्ट चिडियाखाना चलाइरहेको अस्पिनल फाउन्डेसनले यसअघि गुरिल्ला, गैंडालगायत अन्य प्रजातिका जनावरहरूलाई चिडियाखानाबाट जंगलमा स्थानान्तरण गरिसकेको छ।