महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा दक्षिण कोरियाली सैनिक जनरल पक्राउ परेका छन्।
यौन दुर्व्यवहार गरेको आरोपमा दुई तारे ब्रिगेडियर जनरल मंगलबार पक्राउ परेको समाचार संस्था एएफपीले जनाएको छ।
गत महिनामात्रै यौन दुर्व्यवहारमा परेकी एक महिला सैनिकले आत्महत्या गरेको घटनापछि वायु सेना प्रमुखले राजीनामा दिएका थिए। ती महिलाले आफूमाथि दुर्व्यवहार गर्ने कमाण्डरविरूद्ध उजुरी गर्दा अधिकारीहरूले बेवास्ता गरेपछि आत्महत्या गरेकी थिइन्।
पक्राउ परेका ब्रिगेडियर जनरलले अरू सैनिकसँग बेलुकी 'डिनर' गरेपछि ती महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेका थिए।
उनीमाथि विस्तृत रूपमा अनुसन्धान गरिने रक्षा मन्त्रालयका प्रवक्ता बु सिउङ-च्यानले बताए। सेनाले पीडित महिला सैनिकलाई कानुनी तथा संस्थागत सहयोग दिने उनले बताए।
छोटो समयको अन्तरालमा सेनाका दुई वटा यौन दुर्व्यवहारका घटना बाहिरिएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ।
'यो समयमा महिला सैनिकको प्रमुख दुश्मन उत्तर कोरिया होइन, तर पुरूष हुन्,' एक व्यक्तिले सामाजिक सञ्जालमा लेखेका छन्।
दक्षिण कोरियाली समाजमा पितृसत्ता हावी छ। त्यहाँ हरेक सक्षम पुरूषले झन्डै २ वर्ष सेनामा काम गर्नैपर्छ। महिलाहरूका लागि भने सैनिक सेवा रोजाइको विषय हो।
यसअघि पनि ट्रेनिङका बेला हुने बुलिङ र अन्य दुर्व्यवहारले कति जनाले आत्महत्या गरेका घटना हुन्थे।