अविरल वर्षापछि घर भत्किँदा दाङमा तीन महिनाकी शिशुको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान ३ बजेतिर घर भत्किँदा शिशुको मृत्यु र उनकी आमा र दिदी घाइते रहेको प्रहरीले जनाएको छ।
घरको भित्ता भत्कँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मनिषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरी घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले सेतोपाटीलाई बताए।
घाइते आमा-छोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। घटनास्थलबाट शिशुको शव निकालिएको छ। घर नजिकैको गोठ भत्किँदा घरमा क्षति पुगेको थियो।