५७ वर्षीय यज्ञबहादुर बस्नेत नजिकैको जलासय हेरेर दंग परिरहेका थिए। आफ्नो गाउँमा यति धेरै पानी जम्मा भएको उनले कहिल्यै देखेका रहेनछन्। तुलसीपुर उपमहानगरपालिका-१८ का बस्नेतलाई केही दिनअघि हामीले दूध गेजेरी सोताको जलासय नजिक भेटेका थियौं।
उनी किसान हुन्।
दिउँसो १ बजेको टन्टलापुर घाममा भेटिएका बस्नेतले पहिले आफ्नो पीर सुनाए। यतिखेर उनको पीर एउटै थियो, धानको बिउ रोप्ने भइसकेको छ तर खेतमा पानी छैन। दूध गजेरी तुलसीपुरको अग्लो तथा पहाडी भू-भाग हो। पानी परे पनि एकै छिनमा तर्किएर बगिहाल्छ। सिँचाइ कुलोको प्रबन्ध छैन। आकासे पानीको भरमा दूध गजेरी क्षेत्रमा वर्षामा धान रोपिन्छ।
आफ्नो दु:ख सुनाएपछि बस्नेतले सुखको कुरा पनि सुनाए।
'यो दु:ख अब यही वर्षमात्र हो,' उनले नजिकैको जलासय हेर्दै भने।
पानीले भरिभराउ दूध गजेरीको जलासय हेरेर उनीमात्र होइन अरू स्थानीय किसान पनि खुसी छन्। किनभने अर्को सालदेखि चाहेको समयमा खेतीपाती गर्न पाउने छन्।
‘सरहरूले, अब दूधे गजेरी सोता (जलासय)बाट आसपासका गाउँमा बाह्रैमास सिँचाइका लागि पानी उपलब्ध हुन्छ भन्नुभएको छ,’ बस्नेतले भने, ‘सायद अर्कौ वर्ष मैले धान रोप्न यसरी पानीको अभावमा तड्पिनु पर्ने छैन।’
यो जलासय देखेर उनका सपनाले पनि हाँगा हालिसकेका छन्।
भनिए जस्तै पानी बाह्रैमास उपलब्ध भए मौसमअनुसार तरकारी तथा फूलफूल खेती गर्ने उनले बताए।
‘अब त यो ठाउँ मालामाल हुन्छ नि, यो ठूलो पोखरीमा हामी मिलेर माछा पाल्ने सल्लाह भइरहेको छ,’ बस्नेतले भने, ‘हाम्रा खेतबारी अब पक्कै पनि बाह्रैमास हराभरा हुने छन्।’
उनले आफ्नो ठाउँमा विकास आउने र काँचुली फेर्ने सम्झेर आफूहरू दंग रहेको बताए।
उनले भने, ‘अब त पिछडिएको हाम्रो गाउँ-ठाउँ पनि चम्किने भयो, मानिसहरू तलाउ हेर्न र रमाउन आउन थाले भने यहाँ होटेल तथा पसलहरू पनि खुल्ने छन्।’
यो जलासय निर्माणको काम यसै वर्षदेखि सुरू भएको हो। ५० प्रतिशत पनि काम भएको छैन। अझै पनि ड्याम निर्माणले पूर्णता पाइसकेको छैन। बढी भएको पानी निकासको लागि नहर निर्माण गर्नुछ। सिँचाइ प्रणालीका लागि नहर र पानी तान्न लिफ्ट निर्माण गर्नु छ।
दूध गजेरी सोता जलासय निर्माण उपभोक्ता समितिका अध्यक्ष शेषमनि कुँवरले जलासयबाट झन्डै चार सय किसानको खेतबारीमा बाह्रैमास प्रत्यक्ष सिँचाइ सुविधा पुग्ने बताए।
‘यो सोतामा सानो पानीको मूल भए पनि हालसम्म त्यो भण्डारण गर्न नजान्दा त्यसै बगेर जाने गरेको थियो। किसानलाई बालीमा पानी पुग्दैनथ्यो,’ कुँवरले भने, ‘जलासय बनाएर सकेपछि बाह्रैमास सिँचाइ हुन्छ।'
जलासय निर्माण पूरा भएमा किसान मात्र नभई त्यहाँको जैविक विवधता संरक्षण गर्नसमेत सहज हुने उनको भनाइ छ।
अध्यक्ष कँवरले जलासयनजिकै पार्क निर्माण लगायतका संरचना बनाइने जानकारी दिए। एउटा रबरबोट सञ्चालन गर्ने र किसानका समूह बनाएर माछा पालेर आम्दानीको स्रोत पहिल्याउने योजना उनले सुनाए।
यो जलासय बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले निर्माण थालेको हो। आयोजना प्रमुख राजु आचार्यले तुलसीपुर वडा नम्बर १८ र १९ को सीमानामा पर्ने उक्त जलासय डिपिआर अनुसार दुई लाख घनमिटर क्षमताको छ। जसबाट आसपासको ६० हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य राखिएको छ।
दुई वर्ष अघिदेखि जलासय निर्माणका लागि सर्भे लगायतका काम भए पनि यसै वर्षमात्रै काम सुरू भएको हो। ड्याम निर्माणको काम भइरहेको हुँदा त्यसपछि मात्रै सिँचाइका लागि थप संरचना निर्माण सुरू गरिने आचार्यले बताए।
उनका अनुसार जलासयबाट लिफ्टिङ प्राणालीमार्फत् खेतबारीमा सिँचाइको प्रबन्ध मिलाइने छ। डिपिआरअनुसार लिफ्टसहित एक करोड ८३ लाख लागतमा जलासय निर्माणको काम भइहेको छ। यही आर्थिक वर्ष भित्र जलासयको निर्माण कार्य सक्ने लक्ष्य छ।
बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले धमाधम जलासय निर्माणको अभियान चलाएको छ। आयोजनाका सूचना अधिकारी शान्तराज गौतमले हाल जिल्लाका विभिन्न १४ स्थानमा यस्ता जलासय निर्माण भइरहेको जानकारी दिए।
त्यहीमध्ये अर्को जलासय तुलसीपुर १८ को दूधरासस्थित पृर्थली कुईरेसोतामा पनि निर्माण गरिएको छ। पृर्थली कुईरेसोता जलासय जल उपभोक्ता समितिका कोषाध्यक्ष बिष्णुप्रसाद खुलालले साढे ३ बिगाहा क्षेत्रफलमा खाडल बनाई १ करोडको लागतमा उपभोक्तामार्फत् जलासय निर्माणको काम भइरहेको जानकारी दिए।
अहिले त्यहाँ झन्डै ६/७ मिटरभन्दा बढी गहिरो पानी भण्डारण भइसकेको छ। यो जलासयबाट १२७ हेक्टर जमिनमा बाह्रैमास सिँचाइको सुविधा पुर्याउने लक्ष्य लिइएको छ।
ड्याम निर्माणको काम पुरा भइसकेको हुँदा हाल त्यहाँ आउटलेट निर्माणको काम भइरहेका छ।
दूधरास निकै सुख्खा ठाउँ भएको हुँदा किसानको खेताबारीमा सिँचाइको प्रबन्ध गर्ने विकल्पको रूपमा जलासय निर्माण भइरहेको खुलालले बताए। यहाँ पनि लिफ्ट सिष्टमबाट पानी किसानको खेतबारीमा पुर्याइने छ।
खुलालले उक्त जलासयमा झन्डै दुई लाख जति माछाको भुरा राख्ने तयारी गरिएको बताए। त्यहाँ पिकनिक स्पट, रबरबोट सञ्चालन, पार्क निर्माण लगाएका संरचना निर्माण गरिने भएको छ।
त्यस्तै घोराही उपमहानगरपालिका-२ र ४ को सीमानामा सेरेसोतामा पनि जलासय सिँचाइ आयोजना निर्माण गरिएको छ। ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने उदेश्यका साथ यो जलासय निर्माण गरिएको हो। अहिलेसम्म ८० लाख जति लागत भइसकेको भए पनि डिपिआरसहितको स्टिमेट झन्डै दुई करोडको रहेको सेरेसोता जल उपभोक्ता समितिका अध्यक्ष गोविन्दबहादुर भण्डारीले बाताए।
उनका अनुसार उक्त जलासयको क्षमता हाल ३ लाख घनमिटरको छ। झन्डै १४ मिटर बढी पानी भण्डार रहेको अनुमान गरिएको छ। अझैं यसको ड्याम दुई मिटरमाथि उठाउने योजना बनाइएको छ। त्यसपछि उक्त जलासयमा ६ लाख घनमिटरसम्म पानी भण्डारण हुने अनुमान छ।
जलासय निर्माण भएपछि स्थानीय किसान खुसी भएको र कतिपयले त अहिलैदेखि बाह्रैमास खेतीपाती गर्न थालेको भण्डारीले जानकारी दिए।
घोराहीको रामपुरस्थित चेपेदहमा घोराही उपमहानगरपालिकाले आफैं निर्माण गरेको अर्को जलासय छ। उक्त जलासयमा सिँचाइ प्रणालीको विकास र विस्तारको काम भने बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले गरिरहेको छ। जलासयको चारैतर्फ गरी ५ वटा लिफ्ट निर्माण गरिएको छ। जसका लागि आयोजनाले ८४ लाख रुपैयाँ खर्च गरिसकेको छ।
किसानको खेतबारीमा पानी पुर्याउन नहर निर्माणको काम पनि त्यसैबाट हुनेछ। ती लिफ्टहरूमा विद्युत जडानका लागि आयोजनाले टेन्डरको आह्वान गरिसकेको आयोजनाका सूचना अधिकारी शान्तराज गौतमले जानकारी दिए।
त्यस्तै, तुलसीपुर उपमहानगरपालिका-१४ भोजपुरमा बबईको पानी किसानको खेतबारीमा पुर्याउन सोलार लिफ्ट आयोजना निर्माण पूरा भएको छ। ८९ लाखको लागतमा भोजपुरको गनारीमा बबईको पानी लिफ्टिङमार्फत तानेर सिँचाइको प्रबन्ध गरिएको छ।
त्यसको लागि बबई नदीबाट पाइप लाइन, इन्टेक, त्यो पानी तान्न सोलारको प्यानल बोर्डको स्थापना, पानी भण्डारण गर्नका लागि ओभरहेड ट्याङ्की, किसानको खेतबारीमा पानी डोर्याउन पक्की नहरहरू निर्माण गरिएको लिफ्ट सिँचाइ आयोजनाका अध्यक्ष आनन्दकुमार नेपालीले बताए। ९४ लाख ५६ हजार बढीको लागतमा लिफ्ट सिँचाइ योजना निर्माण भएको उनले जानकारी दिए।
त्यसबाट ३० बिगाहा जति जमिनमा सिँचाइ गर्न सकिन्छ।
बर्षातको बगेर खेर जाने पानीलाई भण्डारण गरी राख्ने र हिउँद तथा सुख्खा मौसममा सिँचाइको प्रबन्ध मिलाउने उद्देश्यका साथ दाङमा अहिले बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले धमाधम जलासय निर्माणको अभियान चलाइएको छ।
आयोजनाका सूचना अधिकारी गौतमले हाल जिल्लाका विभिन्न १४ स्थानमा यस्तै जलासय र २६ स्थानमा सिँचाइका लागि लिफ्ट निर्माणको काम भइरहेको जानकारी दिए। त्यसैगरी जिल्लाका थप ३३ स्थानमा पोखरी निर्माणको योजना तय गरिएको गौतमले बताए। जसका लागि आर्थिक वर्ष २०७७/०७८ मा बिनियोजित बजेट २ अर्ब ९३ करोड ७० लाखमध्ये शतप्रतिसत खर्च भएको छ।
जिल्लाको ५६ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ पुर्याउने उदेश्यका साथ २०७३ असार १२को मन्त्रिपरिषदको निर्णयबाट बृहत दाङ सिँचाइ आयोजना लागु भई कार्यान्वयमा आएको हो। जसको मुख्य कार्यालय तुलसीपुरमा छ।
यो सिँचाइ आयोजनाको उद्देश्य सल्यान र रोल्पा नदीहरूबाट जल स्थान्तरण गर्ने तथा जिल्लाकै आन्तरिक जलस्रोतको उचित व्यवस्थापन गरी दाङ उपत्यकामा बाह्रै महिना भरपर्दो सिँचाइ सुविधा पुर्याउने छ। दाङ उपत्यकामा यो आयोजना २०८३/०८४ सम्म रहने अनुमान गरिएको छ। योजनाअनुसार काम गर्न झन्डै ४० अर्ब लागत चाहिने अनुमान गरिएको छ।
दाङ उपत्यका मरूभूमिकरण भइरहेको भन्दै सर्वत्र चिन्ता जाहेर भइरहँदा बृहत सिँचाइ परियोजनाले थालेको प्रयासले यो उपत्यका जलासयमय बन्ने आशा गरिएको छ। यसअघि घोराही क्षेत्रमा घोराही नगरले झन्डै २ दर्जन जति यस्ता जलासय बनाइसकेको छ।