हिमाली जिल्ला मनाङमा लामो समयदेखि सरकारबाट कुनै किसिमका राहत प्राप्त नभएको बाढीपीडितले गुनासो गरेका छन्। गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिराले जिल्लाको अधिकांश क्षेत्रमा क्षति पुगेको छ।
बाढीपहिरो आएको लामो समय बित्दा पनि सरकारको तर्फबाट कुनै सहयोग नपाएको उनीहरूको गुनासो छ।
अहिलेसम्म सरकारको तर्फबाट कुनै राहतको व्यवस्था नभएको र व्यक्तिगतरूपमा मात्रै राहत प्राप्त भएको चामे गाउँपालिका–४ का स्थानीय बासिन्दा पल्साङ लामाले बताए।
‘बाढीपहिरापछि कष्टकर र दयनीय अवस्थामा बस्न बाध्य भएका छौं, घर बाढीपहिराले बगाएपछि अहिले टेण्ट र त्रिपालको बास भएको छ। गाउँबस्तीलाई हेर्दा मन भक्कानिन्छ। यस वर्ष मनाङमा सोच्दै नसोचेको कुरा भयो। एक्कासि बाढीपहिरो आएर घर बस्ती सबै लग्यो’, उनले भने, ‘यो समयमा सरकारी पक्षबाट सहयोग भएको छैन। राहत आएको छ त केवल विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीबाट व्यक्तिगतरूपमै भए पनि राहत सामग्री लिएर आएका छन्।’
उनले पुनः थप्दै भने, ‘न प्रदेश सरकारले सहयोग गरेको छ, न केन्द्र सरकारले। अहिलेसम्म जसोतसो चलिरहेको छ। बस्न र खानका लागि धौधौ भएको बेलामा सरकारले कुनै चासो देखाएन। सरकार नै नभएको महसुस भएको छ।’
आफैंले खाद्यान्न ढुवानी गरेर ल्याउन सडक सञ्जाल पूर्णरूपमा टुटेको छ।
यहाँका बाढीपीडित केही सामुदायिक भवनतिर र केही त्रिपाल टाँगेर बस्ने गरेका छन्। सरकारको सहयोग नपाएपछि यहाँका नागरिक निराश हुन पुगेका छन्।
यता प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीपहिरापीडितलाई सरकारीस्तरबाट सक्दो सहयोग गरेको बताएका छन्। बाढीपहिरा पीडितका लागि व्यक्तिगत र सरकारी निकायसँग समन्वय गरेर राहत प्रदान गरिएको प्रजिअ लामिछानेले बताए।
उनले भने, ‘हामीले कुनै पनि बाढीपहिरा पीडितलाई छुट्याएका छैनौं। व्यक्तिगत र सरकारी निकायसँग समन्वय गरेर राहत प्रदान गर्दै आएका छौं। जिल्लामा खाद्यान्न सङ्कटको सम्भावना देखिएको छ। व्यक्तिगत र सरकारबाट पनि दोहोरो हुने गरेर कसैलाई पनि राहत प्रदान गरिएको छैन। सबैलाई समानरूपले राहतको व्यवस्था मिलाएर प्रदान गरेका छौं।’
गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिराले अर्बौंको भौतिक क्षति पुर्याएपछि यतिबेला मनाङबासी पीडामा छन्।
मर्स्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ।
जिल्लाको चार स्थानीय तह नै बाढीपहिराबाट पूर्णरूपमा प्रभावित भएको छ। नासों, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरो दुवैबाट क्षतिग्रस्त भएको छ भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ। रासस