जिल्ला प्रहरी कार्यलय दाङले तीन जना घुमुवा प्रहरीलाई निलम्बन गरेको छ।
सवारी साधन चोरी र लागुऔषध कोरोबारीसँग साँठगाँठ देखिएपछि तीन जना घुमुवा प्रहरीलाई निलम्बन गरी थुनामा राखेर अनुसन्धान भइरहेको छ।
एक प्रहरी अधिकारीका अनुसार इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विक मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बन गरिएको हो।
प्रहरी स्रोतका अनुसार केसी र विकलाई झन्डै दुई हप्तादेखि जिल्ला प्रहरी कार्यालय घोराही दाङको थुनामा राखेर अनुसन्धान भइरहेको छ।
त्यस्तै, अस्थायी प्रहरी पोष्ट कालेकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुन लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बन गरी थुनामा राखेर अनुसन्धान भइरहेको छ।
संगठनको आचरणविपरीत मोटरसाइकल चोरी र लागुऔषध कारोबारीसँग मिलेमतो भएको अनुसन्धानबाट खुल्न आएपछि तीन जना घुमुवा प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको ती प्रहरी अधिकारीले बताए।
‘प्रहरीले नै चोर्ने र लागुऔषधको कारोबार गर्ने हो भने प्रहरी संगठनको प्रतिष्ठा कहाँ पुग्छ,’ ती प्रहरी अधिकारीले भने, ‘गल्ती गर्ने जोसुकै होस् कसुर अनुसार कारबाही हुनेछ।’
पक्राउपछि सेवाबाट निलम्बनमा परेका तीन प्रहरी जवानबारे मुद्दा विचाराधीन रहेको हुँदा थप के कस्तो कारबाही हुन्छ ? त्यसबारे पछि भन्न मिल्ने ती अधिकारीले बताए।
केही दिन पहिलेमात्रै प्रहरीले मोटरसाइकल चोरी गरी रोल्पा, प्युठानजस्ता पहाडी जिल्लाहरूमा पुर्याएर स्वरूप परिवर्तन गरी विक्री वितरण गर्दै आएका वर्कसप सञ्चालकहरूको समूह पक्राउ गरेको थियो। त्यस्तै जिल्लाबाट लागुऔषध कारोबारीहरू धमाधम पक्राउ पर्न थालेका छन्।