जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित एक पुरूषलाई पक्राउ गरेको छ।
प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत पिपिराका ४२ वर्षीय लीलाराम पुरीलाई प्रहरीले उनकै घर अगाडिबाट पक्राउ गरेको हो।
पुरीलाई एक ग्राम १८० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
प्रहरीलाई उनकै घर अगाडि शङ्कास्पदरूपमा बसिरहेको अवस्थामा फेला पारी शरीर जाँच गर्दा दायाँ हातको मुठ्ठीभित्र सेतो प्लाष्टिकमा निलो धागोले बेरी लुकाइछिपाइ राखेको दुई पुरिया र घर कोठासमेत खानतलासी गर्दा खाटमुनि कालो प्लाष्टिकको एक पोका र सेतो झिलझिलेको अर्को पोका फेला पारी नापतौल गर्दा एक ग्राम १८० मिलीग्राम लागुऔषध ब्राउन सुगर रहेको अधिकारी घर्तीले बताए।
उनका अनुसार ब्राउन सुगरसहित नेपाली र भारतीय नोट गरी जम्मा रु ५० हजार ३४० नगद बरामद गरेको छ।
त्यस्तै, डिजिटल तराजु, एमआई कम्पनीको स्क्रिन टच मोबाइल, मल्टि कलर्ड मोबाइल लेखेको ट्याब एक/एक थान बरामद गरी पुरीको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।रासस