पाकिस्तानमा बम बिस्फोट हुँदा ९ जना चिनियाँसहित १२ जनाको मृत्यु भएको छ।
बुधबार खाइबर पख्तुनख्वा प्रान्तको दसु हाइड्रो पावर प्लान्टनजिकै भएको बिस्फोटमा परी ९ जना चिनियाँ इन्जिनियरसहित १२ जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ।
प्रान्तका डेपुटी कमिसनर अरिफ खान युसाफजाइका अनुसार बुधबार बिहान साढे ७ बजे बिस्फोट भएको थियो। जब चिनियाँ इन्जिनियरसहित ३० जना कामदार बस चढेर बरसिन क्यामबाट प्लान्ट साइट जाँदै थिए।
उनले बसमा इन्जिनियरबाहेक दुई फ्रन्टियर कोर्प्स पर्सनल र स्थानीय कामदारहरू पनि थिए। बिस्फोटमा घाइते भएकाहरूलाई दस्सु ग्रामीण स्वास्थ्य केन्द्रमा लगिएको थियो।
बिस्फोट के कारणले भएको भन्ने बारेमा अहिलेसम्म खुलिनसकेको एक प्रहरी अधिकृतले बताए।
चीनले पनि घटनाको विस्तृत रूपमा अनुसन्धान गर्न अनुरोध गरेको छ। घटनाको खेद जनाउँदै विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले अपराधीहरूलाई कडा कारबाही गर्न पाकिस्तानलाई अनुरोध गरेको छ।
अहिलेसम्म बिस्फोटको जिम्मा कसैले लिएका छैनन्।