अफागानिस्तानमा मुस्लिम कट्टरपन्थी विद्रोही समूह तालिवानले आफ्नो नियन्त्रण क्षेत्र बढाउँदै गएको छ।
अमेरिका र अन्य नाटो मुलुकका सैनिकहरू फर्किने अन्तिम तयारीमा रहेका बेला तालिवानले प्रभाव बढाउँदै लगेको हो। बुधबारमात्रै तालिवानहरूले पाकिस्तानसँग आउजाउ हुने महत्वपूर्ण नाका कब्जामा लिएको दाबी गरेका छन्।
योसँगै तालिवानहरूले आफूले कब्जामा लिएका क्षेत्रमा सर्वसाधारणका लागि फर्मान जारी गर्न थालेका छन्।
केही समयअघि तालिवानले नियन्त्रणमा लिएको उत्तरी अफगानिस्तानको कालाफगान जिल्लामा उनीहरूले महिलाहरूलाई पुरुष आफन्तबिना बजार नजान र पुरुषहरूलाई दाह्री नकाट्न फर्मान जारी गरेका छन्।
स्थानीय इमामहरूलाई पत्र पठाएर यो नियमको पालना नगर्नेले कडा सजाय भोग्नु पर्ने चेतावनी दिएको समाचार संस्था एएफपीले जनाएको छ। तालिवानहरूले मानिसहरूलाई धुमपान पनि निषेध गरेका छन्।
गत महिना तालिवानहरूले ताजिकिस्तानसँग जोड्ने भन्सार कब्जामा लिएका थिए। त्यसपछि उनीहरूले महिलालाई घरबाट बाहिर ननिस्कन आदेश दिएका थिए।
तालिवानहरूले सन् १९९६ देखि २००१ सम्म कुरानको ब्याख्याअनुसार अफगानिस्तानमा शासन गरेका थिए।
उनीहरूको शासनकालमा पुरुष आफन्तबिना महिलालाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको थियो, बालिकाहरू स्कुल जान पाउँदैन थिए। अनैतिक क्रियाकलापमा दोषी ठहर भएकालाई ढुंगाले हानेर मारिन्थ्यो।
पुरुषहरूलाई केही स्वतन्त्रता भए पनि उनीहरूलाई दाह्री काट्न बन्देज थियो भने परम्परागत पहिरन लगाउनु पर्थ्यो। प्रार्थनामा सहभागी नभए कारबाही हुन्थ्यो।
अफगानिस्तानका झन्डै एक तिहाइ बढी जिल्ला कब्जा गरेका तालिवानहरूले सरकारी सैनिकहरूलाई आत्मसमर्पण गर्न भनेका छन्। आफूहरूले सहरी क्षेत्रमा लडाइँ नचाहेकाले सैनिकहरूलाई आत्मसमर्पण गर्न भनिएको उनीहरूले बताएका छन्।
अमेरिकाले दोभाषेको उद्धार गर्ने
यसैबीच संयुक्त राज्य अमेरिकाले सन् २००१ देखि अहिलेसम्म आफूलाई सहयोग गर्ने अफगानी दोभाषेहरूको उद्धार गर्ने भएको छ। हजारौंको संख्यामा रहेका उनीहरूलाई जुलाई अन्तिमदेखि हवाई उद्धार गरी भिसा प्रक्रिया पूरा नभएसम्म अमेरिकाका सैनिक क्याम्पमा राख्ने तयारी भइरहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।
यो पनि पढ्नुस्: