बिनाभिसा गैरकानुनी रूपमा अमेरिका जान खोज्ने सात नेपाली डुंगा दुर्घटनामा बेपत्ता भएपछि प्रहरीले उनीहरूलाई पठाउने एजेन्टको खोजी अभियान तीव्र पारेको छ।
बिहीबार बिहान दाङको घोराही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने गोमा जिसीलाई पक्राउ गरिएको उच्च प्रहरी अधिकारीले बताए।
‘गोमाजीको नाममा केन्द्रबाटै वारेन्ट जारी गरी जिल्लामा पठाइएको हुँदा हामीले पक्राउ गरेर उहाँलाई काठमाडौं पठाइसक्यौं,’ ती प्रहरी अधिकारीले भने।
गोमाका श्रीमान् टोपबहादुर जिसी यसअघि पनि संगठित मानव तस्कर गरेको अभियोगमा अदालतमा मुद्दा परेपछि १५ लाख धरौटीमा छुटेका थिए।
बिनाभिसा गैरकानुनी रूपमा युवालाई अमेरिका पठाएको अभियोग खेपेका टोपबहादुर अहिले युक्रेनमा रहेको स्रोतले बताएको छ।
असार ७ गते बिहान नेपालका ८ जना र १० बंगलादेशी नागरिक सवार डुँगा कोलम्बियाको समुद्रमा दुर्घटनामा परेको थियो। त्यसमध्ये एक नेपाली र पाँच बंगाली नागरिक पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए। पौडी खेलिरहेका उनीहरूको सशुकल उद्धार भएको थियो।
डुंगा दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका-१२ का २८ वर्षीय हेमराज अधिकारी, बबई गाउँपालिका-५ का २७ वर्षीय रेशम बैंगा मगर र घोराही उपमहानगरपालिका-१२ का २१ वर्षीय एन्जल बुढा मगर बेपत्ता रहेको भनेर आफन्तले प्रहरीमा जाहेरी दिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन्।
जसमध्ये घोराहीका बुढाको परिवारले उनको मृत्यु कर्मसमेत गरिसकेको छ। आफन्त गुमाएका अन्य परिवार भने अन्यौलमा छन्। उनीहरूले अमेरिका पठाउने एजेन्टलाई हालसम्म २७ देखि ३५ लाखसम्म रकम बुझाएको बताएका छन्।
दुर्घटनामा परी पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा अझै बेपत्ता छन्।
दाङ, पर्वत, म्याग्दी र स्याङ्जाका युवालाई संगठित मानव तस्करहरूले चोर बाटोमार्फत अमेरिका प्रवेश गराउन खोज्दा डुंगा दुर्घटनामा परेको थियो।
मानव तस्करीको यो घटनामा गोमाको संलग्नता के थियो भन्ने प्रहरीले सार्वजनिक गरेको छैन।
मानव बेचबिखन तथा अनुसन्धान ब्युरोकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दुर्गा सिंहले काठमाडौं ल्याएर उनीमाथि थप अनुसन्धान गरिने बताइन्।
‘हामीले उहाँलाई पुर्जी नै जारी गरेर पक्राउ गरेका छौं। उहाँलाई काठमाडौं ल्याइँदैछ। हाम्रो टोली पनि गएको छ,' सिंहले भनिन्,'उहाँलाई पनि त्यही घटनासँग सम्बन्धित भएर हामीले नियन्त्रणमा लिएका हौं। यहाँ ल्याएर हामीले अनुसन्धान गर्छौं। विस्तृत अनुसन्धानपछि उहाँ एजेन्टकै श्रीमतीमात्रै हो वा एजेन्ट नै हो भन्ने थाहा हुन्छ। अरू अनुसन्धानपछि खुल्ला।'