सडक निर्माण गरिएको वर्षौंपछि डोटीका शाखा सडक धमाधम कालोपत्र हुन थालेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा यहाँका पाँच शाखा सडक कालोपत्र गर्ने तयारीमा रहेका हुन्।
पूर्वाधार विकास कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कम्तीमा पनि ८६ किलोमिटर शाखा सडक कालोपत्र गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै अहिले ती सडकमा धमाधम काम भइरहेको छ।
कालोपत्रको तयारीमा रहेका सडकमा सुदूरपश्चिमको प्रमुख पर्यटकीय तथा प्रसिद्ध धार्मिक क्षेत्र खप्तड जोड्ने पहुँच मार्गका रूपमा रहेको सिलगढी–झिग्राना सडक, कालिका मन्दिरदेखि झिग्रानासम्मको आठ किलोमिटर सडक, सिलगढीदेखि कालिका मन्दिरसम्मको साढे सात किलोमिटर सडक, जिल्ला सदरमुकाम सिलगढीदेखि कलेना, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक र राजपुर–फलेडी–धिर्कामाडौँ सडक तथा बुडर–जोरायल–गड्सेरा सडक छन्।
जिल्लामा गाउँ घरदेखि पर्यटकीय क्षेत्र जोड्ने शाखा सडक कालोपत्र हुने तयारीमा रहेपछि यहाँका नागरिकमा पनि खुसीयाली छाएको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए।
उनले भने, ‘हाम्रा जिल्लामा पाँच वटा शाखा सडक कालोपत्रका लागि तयारी अवस्थामा छन्, सडक कालोपत्र हुन थालेकामा यहाँ नागरिक खुसी भएका छन्।’
भौतिक पूर्वाधार कार्यालयका प्रमुख रामचन्द्र खत्रीका अनुसार प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तडको पहुँच मार्गका रूपमा रहेको सिलगढीदेखि झिग्रानासम्मको १५ दशमलव पाँच किलोमिटर सडक स्तरोन्नति गरी कालोपत्र गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।
आर्थिक वर्ष २०७५/७६ को योजनाअनुसार सिलगढीबाट कालिका मन्दिरसम्मको साढे सात किलोमिटर सडक कालोपत्रका लागि विसं २०७६ असार ३० गते सम्झौता भएको थियो।
रु १५ करोड ९७ लाख १२ हजार ५४२ मा ३० महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने गरी सिएबी कन्स्ट्रक्सन प्रालिसँग भएको सम्झौतानुसार उक्त सडकको कम्तीमा पनि ८० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ।
कालिका मन्दिरबाट झिग्रानासम्मको आठ किलोमिटर सडक कालोपत्रका लागि पनि विसं २०७६ असार ३० गते सम्झौता भएको थियो।
रु २२ करोड ५० हजार ४४ मा सम्झौता भएको उक्त सडकखण्डमा ५५ प्रतिशत काम सम्पन्न भइसकेको भौतिक पूर्वाधार कार्यालयले जनाएको छ।
जिल्ला सदरमुकाम सिलगढीबाट कलेना, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक पनि सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कालोपत्रको काम भइरहेको छ।
पूर्वाधार विकास कार्यालयका अनुसार सिलगढीबाट साढे सात किलोमिटर सडक कालोपत्रका लागि राजेन्द्र पिएस जेभीसँग विसं २०७६ असार महिनामा रु १६ करोड १५ लाख ७० हजार ३१० मा सम्झौता भएको थियो।
कम्तीमा पनि ३० महिनाभित्र सम्पन्न गर्नुपर्ने उक्त सडकमा ५० प्रतिशतको हाराहारीमा काम भएको कार्यालयको दाबी छ।
आव २०७५/७६ कै योजनाअनुसार राजपुर–फलेडी–धिर्कामाडौँं सडकमा साढे नौ किलोमिटर कालोपत्रको काम सञ्चालन भइरहेको छ।
उक्त सडक स्तरोन्नतिसहित कालोपत्रका लागि रु २२ करोड ९१ लाख ४९ हजार ४९५ विनियोजन गरिएको छ।
उक्त सडकको काम ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । उक्त सडक कालोपत्रको जिम्मेवारी केएस कन्स्ट्रक्शनले पाएको छ।
यसैगरी बुडर–जोरायल–गड्सेरा सडक कालोपत्रका लागि तीन खण्डमा काम भइरहेको जोरायल गाउँपालिका–२ का वडाध्यक्ष मानबहादुर मल्लले जानकारी दिए।
सङ्घीय सरकारले हस्तान्तरण गरेको १० किलोमिटर कालोपत्रको योजनामा ८० प्रतिशत काम सम्पन्न भइसकेको उनको दाबी छ। यही असार मसान्तमा सम्पन्न हुनुपर्ने उक्त काम कोरोना महामारीका कारण भने केही प्रभावित भएको बताइएको छ।
रु ३० करोडको हाराहारीमा उक्त सडक कालोपत्रको कार्य लुम्बिनी राजेन्द्र जेभीले पाएको थियो। उक्त कार्य सङ्घीय सरकारले ठेक्का सम्झौता गरी प्रदेश सरकारलाई कार्यान्वयनका लागि हस्तान्तरण गरेको थियो।
बुडर–जोरायल–गड्सेरा सडकमै प्रदेश सरकारको योजनाअन्तर्गत थप १७ किलोमिटर कालोपत्र काम पनि सञ्चालन भइरहेको छ।
विसं २०७७ असार ३० गते शर्मा राजेन्द्र जेभीसंँग रु ३२ करोड ७१ लाख ४७ हजार ५६५ मा लागत सम्झौता भएको उक्त कार्य तीन वर्षसम्म सक्नुपर्ने शर्त जारी गरिएको छ।
उक्त योजनामा कम्तीमा पनि २५ प्रतिशतमात्रै प्रगति भएको बताइएको छ।
बुडर–जोरायल सडकखण्डमा थप साढे सात किलोमिटर कालोपत्रका लागि चालु आवमा पनि बजेट विनियोजन भएको छ।
गत असार १५ गते रु १२ करोड ५३ लाखमा केएस कन्स्ट्रक्सनसँग भएको सम्झौतानुसार उक्त कार्य दुई वर्षमा सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ।
पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरबाट रानागाउँसम्मको कम्तीमा पनि साढे नौ किलोमिटर सडक कालोपत्र गर्ने कार्य सम्पन्न भइसकेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले जानकारी दिए।
सङ्घीय सरकारले केएस कन्स्ट्रक्सनसँग रु ३० करोडको ठेक्का सम्झौता गरी कार्यान्वयन गर्न उक्त कार्य प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो।
उक्त सडकमा रानागाउँबाट वायलसम्म १० किलोमिटर कालोपत्रको निर्माण सञ्चालनमा रहेको छ।
दुई वर्षमा काम सम्पन्न गर्ने गरी विसं २०७७ असार ३० गते राजेन्द्र निर्णाण सेवासँग सम्झौता भएको छ।
प्रदेश सरकारको बजेटअन्तर्गत रु १७ करोड ६३ लाख तीन हजार ७८७ मा निर्माण सम्झौता भएको बताइएको छ। उक्त सडकमा कम्तीमा पनि २५ प्रतिशत कार्यप्रगति भएको भौतिक पूर्वाधार कार्यालयको दाबी छ।
उता जिल्लाको सबैभन्दा पुरानो सहजपुर–बोगटान दिपायल सडकअन्तर्गत सहजपुरबाट अत्तरकाँडासम्म कम्तीमा पनि ५२ किलोमिटर सडक सङ्घीय सरकारको लगानीमा कालोपत्रको काम हुँदैछ।
यसअघि डोटी जिल्लामा कुनै पनि शाखा सडक कालोपत्र भएका थिएनन्।
शाखा सडक स्तरोन्नतिसँगै कालोपत्र भए आफूले फलाएका तरकारीदेखि अन्य चिज वस्तुहरु बजारसम्म पुर्याउन सहज हुने भन्दै यहाँका किसान खुसी भएको बडिकेदार गाउँपालिका–१ का रोजबहादुर कलेलले जानकारी दिए।
कारोना महामारीको समयमा पनि यहाँका सडक कालोपत्रका लागि निर्माणकार्य तीव्ररूपमा सञ्चालन भइरहेका छन्।रासस