जुम्लाको तिला गाउँपालिका र जाजरकोट जोड्ने तिला नदीमा पक्की पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन्।
पुल निर्माणले कर्णाली राजमार्ग हुँदै यहाँको भेरीखोला र जाजरकोटसम्म यात्रा गर्नका लागि सजिलो हुने भएकाले स्थानीयबासी खुसी भएका हुन्।
हिउँदको समयमा नदी सुके पनि वर्षायाममा निकै ठूलो हुने गरेको स्थानीयबासी वसन्ती रावलको भनाइ छ।
‘हिउँदमा सामान्य भए पनि वर्षायाममा खोला बढेर तर्न एकदमै सकस हुन्छ’, उनले भनिन्, ‘तिला नदीमा पक्की पुल निर्माण भएपछि स्थानीयबासीलाई अब सहज हुने भएको छ।’
तिला नदीको त्रिवेणीमा ५२.१५ मिटरको पक्की पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रूपबहादुर रावलले बताए।
चार करोड १२ लाख रूपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएपछि जुम्लाको तातोपानी गाउँपालिका–७ र ८ का नागरिकलाई सदरमुकाम खलङ्गा आवतजावत गर्न सजिलो भएको छ भने जाजरकोट जाने यात्रुलाई समेत सहज भएको स्थानीयबासीको भनाइ छ।
पुल निर्माणका लागि विसं २०७३ असार ५ सम्झौता भएको थियो। तत्कालीन प्राविधिक कार्यालयबाट सुरू भएको सो पुलको निर्माण कार्य विसं २०७५ जेठ ३१ गते सम्पन्न हुनुपर्ने थियो।
लामो समयसम्म अलपत्र अवस्थामा रहेको सो पुलको निर्माण संघीय सरकारको आर्थिक सहयोगबाट भएको हो।
पूर्वाधार विकास कार्यालयका प्रमुख रावलका अनुसार कर्णाली प्रदेशकै पहिलो हाइरिक्स तरिकाले यसको निर्माण भएको छ। जाजरकोटबाट जुम्ला भित्रन सबभन्दा सजिलो मार्गका रूपमा यसलाई विकास गर्न लागिएको छ।
अहिले जुम्ला र सीमाना इमिल्चा हुँदै जाजरकोटसम्म पुग्नका लागि दुई करोड १९ लाख रूपैयाँको लागतमा कच्ची बाटो निर्माण भइरहेको कार्यालयले जनाएको छ।
तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले पुल निर्माण भएपछि यस क्षेत्रको विकासमा कोशेढुङ्गा सावित हुने बताए। साविक कर्णालीको मुकाम जुम्लाको तिला नदीमा पुल नहुँदा जाजरकोटमा गाडी सञ्चालन हुन ढिलाइ भइरहेको थियो, पुल निर्माण भएपछि अब सजिलो हुने उनको विश्वास छ। रासस