शुक्लाफाँटा नगरपालिका-१२ तिलकी पट्टिमा दोदा नदीले जग्गा कटान तीव्र पारेको छ।
लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै जग्गा कटान तीव्र बनाएको हो। स्थानीय किसानले लगाएका उखु र धानबालीमा नदीले क्षति पुर्याउन थालेको स्थानीयबासी मङ्गलप्रसाद चौधरीले बताए।
‘दुई दिनको अवधिमै नदीले जग्गा कटान गरी एक बिघाभन्दा बढी जग्गामा लगाएको धान र उखु बाली बगाएर लगेको छ’, उनले भने, ‘जग्गा कटान रोक्नका लागि पहल नगरिए बस्ती नै जोखिमा पर्ने देखिएको छ।’
उनका अनुसार नदीले चुन्नु चौधरीको पाँच, रामदास रानाको पाँच, फिर्ता रानाको पाँच, पदम रानाको तीन र जन्न्नु रानाको तीन गरी २१ कठ्ठा जग्गा बगाएर बगरमा परिणत गरेको छ।
दोदा र वनहरा नदीको दोभान रहेको क्षेत्रमा नदीले बढी क्षति पुर्याएको छ।
विगतमा नेपाल रेडक्रसको सहयोगमा इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिले साझेदारी गरी जैविक तटबन्ध निर्माण गरेको थियो।
नदीको धार परिवर्तन भई जैविक तटबन्ध निर्माण गरेको क्षेत्रमै बग्न थालेपछि जग्गा कटान अधिक हुन थालेको छ।
‘विपद् व्यवस्थापन समितिमा आबद्ध समुदायका व्यक्तिहरूले संरक्षण गरेको बगर बनेको छ’, स्थानीयबासी रामदास रानाले भने, ‘बगर नदीले कटान गरी बगाएपछि स्थानीय बासिन्दाले उखु र धानखेती गरेको उब्जाउ जग्गासमेत बगाउन थालेको छ।’
नदीले उब्जाउ जग्गा कटान गर्न थालेपछि निकै चिन्तित भएको उनले बताए।
नदीमा भरपर्दो तटबन्धको तत्काल व्यवस्था नभए बस्ती नै बग्ने खतरा बढेको छ।
बस्तीका ३५ परिवार नदीको उच्च जोखिममा छन्। तटबन्ध निर्माणका लागि जल उत्पन्न तथा सिँचाइ डिभिजन कार्यालयमार्फत् पटक-पटक अनुरोध गरे पनि लकडाउनको कारण देखाउँदै तटबन्ध निर्माण अगाडि नबढाइएको स्थानीय बासिन्दाको गुनासो छ।
‘बर्षात् हुने दिन अझै बाँकी नै छन्’ स्थानीयबासी बालसुग्रिब रानाले भने, ‘खेती गरेको जग्गा नदीले कटान गरी बगाउन थालेपछि भोकमरीको समस्या खेप्नुपर्ने बाध्यता त छ नै, नदी नियन्त्रणका लागि पहल नभए बस्ती नै विस्थापनमा पर्ने भएको छ। परिवार लगेर कुन ठाउँमा गएर बस्ने अर्को पिरलो छ।’
वि.सं २०६४ मा नदीको बाढीले यस क्षेत्रमा बसोबास गर्ने २५ परिवार विस्थापनमा परेका थिए।
नदी नियन्त्रणका लागि स्थानीय बासिन्दाले रेडक्रससँग मिलेर जैविक तटबन्ध निर्माण गरी बगर संरक्षणमा जोड दिएका थिए। नदीको जोखिम रहेका क्षेत्रमा बाँसको तटबन्ध निर्माण गरी बगरमा घाँस रोपेर जग्गा कटानी हुने कार्य रोकेका थिए।
हाल त्यही क्षेत्रमा नदी बहाव बढ्दा कटान हुन थालेको छ। स्थानीय बासिन्दाले तारजाली र ढुङ्गाको स्थायी प्रकृतिको तटबन्ध निर्माण गरी बस्ती जोगाउन सम्बन्धित निकायसँग माग गरेका छन्। रासस