नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीको रोकिएको तलबभत्ता दिने भएको छ।
आन्दोलनमा उत्रिएको सातौं दिनमा व्यवस्थापन समितिबाट कर्मचारीको माग पूरा गर्ने भन्दै लिखित सहमति भएपछि कर्मचारीले व्यवस्थापन तथा प्रशासनमा लगाएको ताला खोलेका छन्।
विगत लामो समयदेखि तलब भत्ता नपाएपछि आन्दोलनमा उत्रिएका शिक्षण अस्पताल नेपालगञ्जका कर्मचारीको माग व्यवस्थापन पक्षले सम्बोधन गरेको छ।
व्यवस्थापन पक्षका तर्फबाट लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिडेटका उपनिर्देशक श्यामकुमार शर्मा तथा आन्दोलित कर्मचारीका तर्फबाट मुनिर खान, अशोककुमार दीक्षित र विजयकुमार त्रिपाठीले उक्त लिखित सहमतिमा हस्ताक्षर गरेका छन्।
वैशाख महिनाको तलब साउन १० गतेभित्र, जेठ महिनाको तलब साउन २० गतेभित्र र असार महिनाको तलब भदौ ७ गतेभित्र उपलब्ध गराउने साथै फरक तलब, बीमा, सामाजिक सुरक्षा कोषबापतको रकम साउन मसान्तसम्म दिने र उपदानबापतको रकम असोज महिनासम्म प्रत्येक कर्मचारीको व्यक्तिगत खातामा राखिदिने सहमति भएको खानले बताए।
उनका अनुसार हटाइएका कर्मचारीका बारेमा शनिबार बसेर छलफलका माध्यमबाट टुंगो लगाइने भएको छ।
कलेजले तलबभत्ता समयमा उपलब्ध नगराएको भन्दै तीन युनियनले गत असार ९ गते व्यवस्थापन पक्षसँग सातबुँदे मागपत्रमा ५१ बुँदे सहायक माग राखेर आन्दोलन गरेका थिए।रासस