ताप्लेजुङको मैवाखोला गाउँपालिका सुकुम्बासीविहीन बन्ने भएको छ।
सुकुम्बासीलाई जग्गा खरिद गरी दिने प्रक्रिया सुरू भएसँगै अब मैवाखोला गाउँपालिका सकुम्बासीविहीन बन्ने भएको हो।
यसका लागि चालू आर्थिक वर्षमा एक करोड रूपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। सुकुम्बासीका लागि जग्गा खरिद गर्न गत आर्थिक वर्षमा गाउँपालिकाले ३० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो।
गाउँपालिकाले गत हप्ता मात्र सोही गाउँपालिका-४ का निङ्मा फूर्वा शेर्पालाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराएको थियो। गाउँपालिकाले आफ्नो नाममा दुई रोपनी जग्गा पास गरिदिएपछि अब उनी सुकुम्बासी रहेनन्।
जग्गा पास गरिदिन वडाध्यक्ष पूर्णाहाङ लिम्बूसहित जिल्ला मालपोत कार्यालय फुङ्लिङमा आएका थिए। निङ्माका श्रीमान पेम्बा बेपत्ता भएको २२ वर्षपछि बल्ल उनले आफ्नै नाममा जग्गा प्राप्त गरेका छन्।
श्रीमानका नाममासमेत जग्गा नभएपछि ४० वर्षदेखि साहुको जमिन अधियाँ कमाएर गुजारा चलाइरहेका उनको दुई छोरीको विवाह गरेपछि घरमा एक्लै भएकी छन्।
उनको आफ्नो कमाइले जमिन जोड्न कल्पना बाहिरको कुरा थियो।
सुकुम्बासीमुक्त पालिका बनाउने अभियानअन्तर्गत गाउँपालिकाले उनलाई जग्गा खरिद गरेर जग्गाधनी पूर्जा उपलब्ध गराइदिएपछि उनी अहिले दङ्ग परेकी छिन्। आगामी आर्थिक वर्षमा घरसमेत बनाइदिने कार्यक्रम रहेको गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङवाङले बताए।
गाउँपालिकाभित्र जमिनविहीन परिवारको तथ्यांक वडा कार्यालयमार्फत संकलन कार्य भइरहेको चोङपाङले बताए।
आफ्नो नाममा जमिन नभएका स्थानीयबासीको पहिचान गर्ने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ।
गत आर्थिक वर्षमा जग्गा खरिद गरिदिने र चालू आर्थिक वर्षमा घरसमेत बनाइदिने गाउँपालिकाको योजना भएको मैवाखोला गाउँपालिकाका सूचना अधिकारी मदन तिवारीले बताए। त्यसका लागि गाउँपालिकाले आवश्यक बजेट समेत विनियोजन गरेको उनले बताए।
सुकुम्बासीका लागि अहिले जग्गा खरिद कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले बताइन्।
सुकुम्बासी भनेर समाजले लगाइदिएको ट्याङ अब हटेको अर्का स्थानीयबासी फूर्वा ग्याल्जेन शेर्पाले बताए। उनलाई पनि गाउँपालिकाले दुई रोपनी जग्गा खरिद गरिदिएको छ।
‘तेरो नाममा जग्गा घर केही छैन भनेर समाजले फरक व्यवहार देखाउने गरेको थियो’, उनले भने, ‘अब त मेरो नाममा पनि जग्गा छ।’
बाजेले जमिन बेचेर खाएपछि उनको परिवार रैथाने भएर पनि दुई पुस्तादेखि गाउँमै सुकुम्बासी बनेको थियो। साहुको चार रोपनी अधियाँ कमाएर उनले छ जनाको परिवार पालिरहेका थिए।
बाबु र बाजेका नाममा समेत घरजग्गा भएका परिवारलाई सुकुम्बासी भनेर पहिचान गरिएको गाउँपालिकाले जनाएको छ। जिल्लामा पहिलो पटक मैवाखोलाले यस्तो योजना ल्याएको हो।
वडा नं ५ र ६ का सुकुम्बासीले चार/चार रोपनी र अन्य वडाकालाई दुई/दुई रोपनीका दरले जग्गा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ।
सुकुम्बासीका लागि यसअघि सार्वजनिक तथा सरकारी जग्गाको उपयोग गर्ने गरिएको थियो। (रासस)