पश्चिम अफ्रिकी मुलुक सिरालियोनको संसदले देशमा भएको मृत्युदण्डको व्यवस्था हटाएको छ। शुक्रबार सिरालियोनको संसदले सर्वसम्मत रूपमा मृत्युदण्डको व्यवस्था हटाएको द गार्डियनले जनाएको छ।
योसँगै अफ्रिका महादेशमा मृत्युदण्डको सजाय नहुने मुलुकको संख्या २३ पुगेको छ। गत अप्रिलमा मालावीले मृत्युदण्डलाई असंवैधानिक भनेको थियो भने गत वर्ष चाडले मृत्युदण्ड हटाएको थियो।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुतेरेसले सिरालियोनको संसदले गरेको निर्णयको प्रशंसा गरेका छन्।
‘मृत्युदण्ड हटाउने विषयमा सिरालियोनको संसदले एकमतले गरेको निर्णयको म प्रंशसा गर्दछु। २१ औं शताब्दीमा मृत्युदण्डलाई कहिँ पनि ठाउँ छैन,’ गुतेरेसले सामाजिक सञ्जालमार्फत् भनेका छन्।
यसअघि सन् १९९१ मा बनेको सिरालियोनको संविधानमा हत्या, लुटपाट र सैनिक विद्रोह र राज्यद्रोहको मुद्दामा मृत्युदण्ड दिन सकिने व्यवस्था थियो।