अमेरिका उड्ने सपनामा मस्त थिए यज्ञबहादुर बस्नेत। मानौं उनका पखेटा उम्रिरहेका छन् र भुर्र उडेर पुग्नेछन्!
उनका पखेटा त उम्रेनन् तर अमेरिका उड्ने सपना पूरा हुने भयो। २०७५ साल वैशाख ३ गते आमाबुवासँग आर्शीवाद थापी उनी अमेरिका जान हिँडे।
तुलसीपुर उपमहानगरपालिका-१० गौरीगाउँका यज्ञसँगै तुलसीपुर-८ अश्वार र घोराहीका दुई युवा पनि थिए। चिनजानका नेपाली एजेन्टमार्फत भारत हुँदै अमेरिका जाने तरखर थियो। यज्ञले एजेन्टलाई ३२ लाख रूपैयाँ बुझाउने मौखिक सहमति गरेका थिए। एजेन्ट खोज्ने, रकम छिनोफानो गर्ने लगायत सबै काम आफैं गरे।
उनका आमाबुवा खेतीपाती गर्छन्। दाजु पारस आर्युवेदिक डाक्टर हुन्। यज्ञलाई सकभर विदेश नजान, यहीँ काम गर्न सबैले सम्झाउन खोजे। तर यज्ञले अमेरिका जाने सपना किशोर उमेरदेखि नै देखेका थिए। यही सपनाका भरमा १२ कक्षाभन्दा थप पढ्न चासो पनि दिएनन्।
कान्छा छोराको जिद्दी अगाडि परिवारको जोर चलेन। उनलाई अमेरिका पठाउन परिवारले सात/आठ कठ्ठा जग्गा बेच्यो। यज्ञलाई चिन्ता थिएन, लागेको थियो- अमेरिका पुगेपछि लाखौं, करोडौं कमाएर पठाइहाल्छु। अहिले बेच्नु परेकोभन्दा दोब्बर धान, गहुँ, मुसुरो उब्जिने खेत किन्छु।
यस्तै खयाल बुन्दै उनी र साथीहरू दाङबाट भारत जाने गाडी चढे। एक दिन बसको यात्रापछि दिल्ली पुगे र एक रात त्यहीँ बसे। दिल्लीमा अरू नेपाली पनि भेटिए। वैशाख ५ गते अमेरिका जाने भन्दै दाङका तीन जना, रूकुमका तीन र भारतीय नागरिकहरू गरी १२ जना एकै साथ उडे।
तर उनीहरूको जहाज अमेरिका जान्थेन, न उनीहरूको यात्रा वैध थियो। वैध भएको भए भारत घुम्दै जानै पर्थेन। संगठित मानव तस्करले पैसाका लागि अवैध बाटो भएर तेस्रो मुलुक मार्फत अमेरिका पठाउँदै आएका छन्। यज्ञ र उनका साथीको अमेरिका उड्ने सपनाले उनीहरूलाई यही जालोमा फसाएको थियो।
पहिलो उडान दिल्लीबाट रसियासम्म थियो। रसियामा एक-दुई घन्टा ट्रान्जिटपछि उनीहरू स्पेन पुगे। त्यहाँबाट आइसल्यान्ड हुँदै सूर्यनाम। ठाउँठाउँमा दुई-तीन घन्टा ट्रान्जिटबाहेक उनीहरू लगातार तीन दिन आकाशमा उडे। सूर्यनाम उनीहरूको 'एक्जिट' थियो। एजेन्टहरू एयरपोर्ट बाहिर उनीहरूका फोटा भएका कार्ड बोकेर कुरिरहेका थिए।
यज्ञहरू आफ्ना फोटो देखाउने मानिसका पछि लागे। सबैलाई एउटै गाडीमा राखेर होटल पुर्याइयो। एक दिन होटल बसेर अर्को दिन उनीहरू गाडीबाटै ब्राजिल पुगे। ब्राजिलमा भने उनीहरूको यात्राले केही विश्राम पायो। त्यहाँ पाकिस्तानीले चलाएको होटलमा उनीहरू झन्डै एक महिना बसे।
होटल सञ्चालकले हिन्दीमा कुरा गर्ने भएकाले संवादमा सहज भयो। होटल सञ्चालक पनि उनीहरूसँग खुलेर गफिन्थे। यज्ञको नियास्रो मेटिन्थ्यो।
उनीहरू जस्तै अवैध बाटो हुँदै अमेरिका जान हिँडेका अरू छ जना नेपाली, त्यो पनि दाङकै युवा ब्राजिलमा भेटिए। बाह्र जना नेपालीले आपसमा सुखदुःख, अमेरिका जान खोज्नुका रहर वा बाध्यताका कुरा गरेर दिन काटे। एजेन्टले बेलाबेला फुटबल खेलाउन लैजाने भएकाले मन बहलिन्थ्यो।
यज्ञहरू सबैले घर परिवार र आफन्तलाई फोन गरी आफू सकुशल र यात्रामै रहेको जानकारी दिइरहन्थे।
एक महिना लामो प्रतीक्षापछि ब्राजिल छोड्ने दिन आयो। उनीहरू जहाज चढेर कोलम्बिया गए। त्यहाँका एजेन्टले टर्बो भन्ने ठाउँमा दुई दिन बसाए। ठाउँपिच्छे स्थानीय एजेन्ट हुन्थे। भाषा नबुझे पनि इसाराले काम चल्थ्यो। धेरै समस्या भए ह्वाट्सएप, भाइबरमा नेपाली एजेन्टसँग कुरा हुन्थ्यो। पुगेको ठाउँको फोटो आदानप्रदान पनि गर्थे।
एजेन्टले टर्बोदेखि उनीहरूलाई मोटरसाइकलमा राखेर एक विशाल समुद्र नजिक पुर्याए। अबको यात्रा डुंगा मार्फत कपुरगानासम्म थियो। समूह विभाजन गरेर आलोपालो एजेन्टले मानिस लैजान्थे। डुंगाको अगाडितिर बस्दा बढी डर लाग्छ भन्ने यज्ञहरूले सुनेका थिए। त्यसैले अगाडि नबस्ने सल्लाह गरे।
डुंगा भएको ठाउँमा सबभन्दा पहिले यज्ञ नै पुगे। उनले सोचेका थिए- पानी जहाज वा ठूलो डुंगा होला, यात्रा आरामदायी हुने भयो!
भयो ठीक विपरीत। नेपालका नदी-खोलामा चल्नेजस्तै साना डुंगामा सानो मोटर जोडिएको थियो।
सबभन्दा पहिला पुगेकाले यज्ञ अगाडि बस्नुपर्यो। डुंगामा तीन नेपाली, तीन भारतीय, एक चालक र एक जना समुद्री गाइड थिए। प्रहरीले चाल पाउँछन् भनेर टर्च लाइट नबाल्न र नबोल्न भनियो।
बेलुकी सात बजेतिर डुंगा चल्यो। चालकले मोटर डुंगा २०/३० किलोमिटर प्रतिघन्टाको गतिमा चलाए। त्यो देखेर यज्ञलाई अलि राहत भयो। फेरि सोचे- आरामै हुने भयो।
एक-डेढ घन्टाको यात्रापछि यज्ञको आशाले फेरि उल्टी खेलिदियो। चालकले एकाएक डुंगा सक्दो रफ्तारमा हुँइक्याउन थाले। कम्तीमा एक सय बढीको स्पिड।
चुक घोप्टेजस्तो अन्धकार! बेलाबेला पानीका छालमा डुंगा हराएझैं हुन थाल्यो। त्यो अँध्यारोमा पनि यज्ञ समुद्रबीच काला ढिस्काहरू देख्थे। डुंगामा राम्ररी समात्ने ठाउँ पनि थिएन।
यज्ञले सोचे- बाँच्ने अब यत्ति रहेछ। यही समुद्रमा जीवनलीला सक्किने भयो!
'अब बाँचिन्न होला भन्ने लाग्यो,' यज्ञले सेतोपाटीसँग त्यो अनुभव सुनाए, 'गाउँघरको खुबै याद आयो। उज्यालोको अंश कतै थिएन। जताततै पानी पानी। कालैकालो। सातो उडेको थियो। भगवान पुकार्नेबाहेक विकल्प थिएन।'
डुंगाको गतिसँगै मुटु कामिरहेका बेला एकाएक बीच समुद्रमा डुंगा रोकियो। अब त हंशले नै ठाउँ छाड्यो।
'यसले हामीलाई लुटेर मार्छ होला। लास यहीँ समुद्रमा फाल्छ होला,' यज्ञले साथीसँग साउती गरे।
आधा घन्टाजति रोकिएर डुंगा चल्यो, फेरि उही रफ्तारमा। यज्ञहरूले लामो सास ताने।
बेलुका सात बजे डुंगा चढेका उनीहरूले अर्को दिन बिहान ६ बजे सकुशल समुद्र पार गरे। कपुरगाना पुगेपछि अंकमाल गरे। बाँचियो भन्दै खुसी साटे।
स्थानीय एजेन्टले उनीहरू छ जनालाई कपुरगानाकै एक व्यक्तिको घर लगेर राखे। एक-दुई दिनपछि ब्राजिलमा भेटिएका अरू नेपाली युवा पनि आइपुगे। एजेन्टहरूले झन्डै ५०/६० जना मानिस भेला पारे- नेपाली, भारतीय, बंगाली, पाकिस्तानीहरू।
झन्डै एक साता कपुरगाना बसेपछि फेरि समूह छुट्याइयो। यज्ञको टोलीमा सिन्धुपाल्चोकका दुई महिला पनि थिए। अब राति हिँड्दै पनामा जाने कुरा भयो, जंगलैजंगल पैदल यात्रा। आफ्ना लागि आवश्यक खाना (चाउचाउ, बिस्कुट), पानी र बाटामा बस्न टेन्टको भारी आफैं बोक्नुपर्ने भनियो। यात्राअगाडि हरेकलाई १५० डलर एजेन्टले नै दिए।
स्थानीय एजेन्ट लगभग आधा बाटो पार गराउन आफैं गए। एउटा खोला आएपछि 'यो खोला नछोडी जानू' भन्ने निर्देशन दिएर फर्किए।
यज्ञहरू खोला किनारैकिनार जंगलको बाटो हिँड्न थाले। थकाइ मार्न टेन्ट टाँगेर सुत्थे। दुई दिन हिँडेपछि उनीहरूका खुट्टा सुन्निएर पाउरोटी जस्तै भए। महिलाहरूका खुट्टाको छालाको एक तह नै गयो। हिँड्न नसक्ने भएपछि हात समाएर डोर्याउँदै लैजानु परेको यज्ञ सम्झिन्छन्।
'दिदी-भाइ-बिहनीको भावनाले एकअर्कालाई सहयोग गर्दै यात्रा गर्यौं,' यज्ञले भने, 'उहाँहरू रूँदा हामीले ढाडस दिन्थ्यौं। मरे सँगै मरौंला, बाँचे सँगै बाँचौंला भनेर सम्झायौं। आपसमा हौसला र खाने कुराहरू बाँडेर अगाडि बढेका थियौं।'
खुट्टाको सास्ती एकातिर, अर्कातिर टाउको दुख्ने, वान्ता हुने, बेहोस हुने जस्ता समस्या धेरैलाई देखियो। एक जना बंगाली बेहोस भएपछि आफूले लगाएको टिसर्ट फुकालेर दिए यज्ञले। बेलाबखत दिक्क भए पनि अमेरिका पुग्ने जोसले ऊर्जा थपेको यज्ञले बताए।
यात्रा क्रममा एक दिन गुन्डाहरूसँग उनीहरूको जम्काभेट भयो। भाषा नबुझे पनि गुन्डाहरूले हतियार देखाएर पैसा माग्न थाले। चार/पाँच जनाले भरूवा बन्दुक र तरवार बोकेका थिए। यज्ञसहित १२ जनासँग भएको सबै पैसा, मोबाइल लगायत सामान लुटे।
विरानो देश, जंगलको बीच र रित्तो खल्ती। तर पनि अमेरिका सपनाले उनीहरूलाई छाडेन। अगाडि बढिरहे। चार दिन र चार रातको जंगल यात्रापछि उनीहरू पनामा पुगे।
पनामामा सेनाको शिविरमा उनीहरूलाई शरण दिइयो। पनामा सरकारले शरणार्थीका लागि शिविरहरू बनाएको छ। बस्न, खान राम्रै व्यवस्था थियो। तीन दिन शरणार्थी बनेपछि सेनाले गाडीमा राखेर कोस्टारिकाको अर्को शिविर पुर्याइदियो। कोस्टारिकामा पनि शरणार्थीले शरण लिन पाउने सुविधा छ।
'कोस्टारिका सेनाले हामीलाई यहीँ शरणार्थी भएर बस, उता जानु पर्दैन भनेका थिए। हामीले मानेनौं,' यज्ञले सुनाए।
तर यो उनीहरूको निर्णय थिएन। कोस्टारिका शिविरमा तीन दिनभन्दा बढी नबस्नू भनेर एजेन्टले पहिल्यै सम्झाएका थिए। शिविरमा मानव तस्करीको मिलेमतो भएको यज्ञ अनुमान गर्छन्। शिविरबाट निस्किँदै गर्दा बाहिर उनीहरूको तस्बिर बोकेका एजेन्ट गाडीसहित तयार थिए।
गाडीमा बसेपछि ती एजेन्टले भाइबरमार्फत ब्राजिलमा बस्ने प्रमुख नेपाली एजेन्टसँग कुरा गराए। उनीहरूको फोटो खिचेर पठाए। जहाँ/जहाँ उनीहरू पुग्थे, त्यस्तै गरिन्थ्यो।
कोस्टारिकाबाट गाडीमा एक रात हिँडेपछि उनीहरू निकारागुवा भन्ने देश पुगे। त्यहाँ पुग्दासम्म सिन्धुपाल्चोकका महिला अर्कै समूहमा परिसकेका थिए। १२ जना नेपाली र चार भारतीय गरी १६ पुरुषको समूह भयो। उनीहरूलाई परिवारसहितको 'पब्लिक' घरमा एक रात बसाइयो। पैसा छैन भनेपछि एजेन्टले सबैलाई जनही एक सय डलर दिए।
अब उनीहरूको गन्तव्य ग्वाटेमाला थियो। निकारागुवादेखि फेरि एक दिन जंगलको पैदल यात्रा गर्नुपर्ने। एक किलोमिटर पनि हिँडेका थिएनन्, फेरि लुटेराहरू अत्याधुनिक हतियारसहित आए। सबै पैसा लुटे। एक जोर कपडा र जुत्तामोजा बाहेक सबै लगे।
'ब्रस र मञ्जन समेत लुटे,' यज्ञले सुनाए।
दोस्रो पटक रित्तिएका उनीहरू खोलाको पानी पिउँदै हिँडेको १२ घन्टापछि, बेलुका चार बजेतिर ग्वाटेमाला पुगे। त्यहाँ पनि स्थानीय एजेन्ट उनीहरूलाई कुरिरहेका थिए। आठ जना अटाउने गाडीमा उनीहरू १६ जनालाई खाँदियो।
यज्ञले सुनाए, 'चढ्दिनँ भन्न पनि नहुने। मान्छेमाथि मान्छे राखे नि।'
एक घन्टापछि उनीहरूलाई गाडीबाट ओरालियो। यज्ञ अनुमान गर्छन्, प्रहरी जाँच छल्न एजेन्टले त्यसो गर्थे।
'हामीलाई मुख्य सडकबाट खेतैखेत हिँडाएर फेरि सडकमै ल्याउँथे,' यज्ञले भने, 'केही अप्ठ्यारो पर्दा एजेन्टको मोबाइलबाट ब्राजिलका नेपाली एजेन्टसँग कुरा गर्थ्यौं। उनैले यो बाटो, यसरी जाऊ भनेर फोनमै गाइड गर्थे।'
यज्ञका अनुसार चार/पाँच ठाउँमा एक-डेढ घन्टा गाडी चढ्ने, फेरि खेतको बाटो हिँड्ने र सडक भेट्ने कुरा रातभर गर्नुपर्यो। पानी परिरहेको थियो, न बत्ती न गाइड। भनेको बाटो छामछुम गर्दै हिँड्नुको विकल्प थिएन।
एउटा सानो खोला तरेपछि थोरै अगाडि बढ्नासाथ फेरि चार/पाँच जना हतियारधारी लुटेराले उनीहरूलाई घेरे। सबैलाई मुन्टो तल पारेर बस्न लगाए।
बिहानको करिब तीन बजेको थियो। मदिराले मातेका लुटेराले सबैलाई घोप्टो पर्न भने। अनि एक नेपालीको कञ्चटमा पेस्तोल ताके। पैसा मागे। उनीहरूसँग केही बचेको थिएन। तर एक जनाले ट्राउजरको इजारमा सय डलर राखेका रहेछन्। साथीलाई जोगाउन झिकेर दिए।
एक्कासि लुटेराले कञ्चटमा ताकेको पेस्तोल पड्काए।
'हामी सबै घोप्टो परेका थियौं। कसलाई लाग्यो भन्ने थाहा भएन, तर हामीमध्ये कसैलाई त हाने भनेर साह्रै आत्तियौं,' यज्ञले भने।
अब पालो यज्ञको थियो। लुटेराले उनको हातको बाला दिन इशारा गरे। यज्ञले खुरूक्क खोलेर दिए।
'मनकामना मन्दिर जाँदा किनेको पित्तलको बाला थियो, सुन भन्ठानेर मागेका होलान्,' उनले सुनाए।
त्यसपछि लुटेराले सबैलाई जुत्ता, ज्याकेट र राम्रा टिसर्टहरू पनि खोल्न भने। ज्यानको मायाले सबैले जुत्ता, टिसर्ट दिए। कसैले पाइन्ट नै बुझाए।
सबै रित्तिँदा उनीहरूको मन भारी भयो। तर अघि लुटेराले गोली आकाशमा पड्काएका रहेछन्। सबै सकुशल देख्दा तै बिसेक भयो।
यसपछि उनीहरू खाली खुट्टा पैदल हिँड्नुपर्यो। घोराहीका युवकको पाइन्ट समेत लुटिएको थियो। उनी भित्री वस्त्र मात्र लगाएर हिँडे।
'सबै लुटिए पनि बाँच्यौं भनेर खुसी थियौं,' यज्ञले भने।
अन्धकार, अनकन्टार र अनजान बाटोमा चिप्लिँदै, हिलोमा गाडिँदै उनीहरू हिँडिरहे। खुट्टामा काँडा र ढुंगा बिझ्थे। एक घन्टा यसरी नै हिँडेपछि एक एजेन्ट भेटिए। उनले सबैलाई आफ्नो घर लगे। १६ जनाकै लागि एक-एक जोर चप्पल र कपडा किनिदिए।
त्यही दिन बिहान ११ बजेतिर उनीहरू होन्डुरस जान गाढी चढे। एकदिन जति गाडीमा यात्रा गरे। कति ठाउँमा मोटरसाइकल, कहीँ रिक्सा जस्तो साधन चढे। त्यस्तै गर्दै उनीहरू ग्वाटेमाला पुगे। त्यहाँबाट मेक्सिको जान एउटा सानो खोला तर्नुपर्थ्यो। एजेन्टले ट्याक्टरको ट्युबबाट पार गराए।
मेक्सिकोमा त अंग्रेजी भाषा बोल्छन्। यहाँ बल्ल यज्ञ र उनका साथीलाई सजिलो भयो। किजवाना भन्ने ठाउँको होटलमा उनीहरू पाँच दिन बसे।
मेक्सिकोमा पनि शिविर थियो जहाँबाट शरणार्थीका लागि कागजात तयार हुन्थ्यो। त्यो कागज लिएपछि बिना पासपोर्ट एक ठाउँबाट अर्कौ ठाउँ घुम्न पाउने, बस र जहाजको टिकट काट्न पाउने व्यवस्था छ। कागजात बनेपछि उनीहरू थप पाँच दिन मेक्सिको शिविरमा बसे।
त्यसपछि उनीहरूलाई सुरक्षाकर्मीले गाडी चढाएर मेक्सिको सिटी पुर्याइदिए। यज्ञहरूलाई पठाउने नेपाली एजेन्टले त्यहाँ एउटा भवनको पूरै फ्ल्याट लिएका रहेछन्। त्यहाँ यज्ञसहित १६ जना पुग्नुअगावै थप १५/१६ जना अमेरिका जान खोज्ने नेपाली बसिरहेका थिए। अरू देशका पनि थिए। अवैध मार्गबाट अमेरिका जान हिँडेका लगभग ४५ जनाको जमघट भयो।
यज्ञले त्यहाँ एउटा अचम्मको कुरा पत्ता लगाए।
आफूलाई पठाउने एजेन्टले भारतीय एक नागरिकलाई नेपाली नागरिकता र पासपोर्ट बनाइदिएका रहेछन्। चेन्नईका ती व्यक्ति स्टुडेन्ट भिसामा अमेरिका बस्दा 'डिपोर्ट' भएका थिए। फेरि भारतीय बनेर अमेरिका प्रवेश पाउँथेनन्। त्यसैले विजय थापा नामको नेपाली नागरिकता र पासपोर्ट बनाएका रहेछन्।
'कुराकानीका क्रममा ती भारतीयले मलाई नेपाली नागरिकता र पासपोर्ट देखाए,' उनले भने, 'मानव तस्करको सञ्जालबारे थाहा पाएर रिगंटा छुटेझैं भयो। तर मैले कसैसँग शंकास्पद कुरा गरिनँ। मलाई जसरी नि अमेरिका पुग्नु थियो। थुप्रै खर्च र दुःख खेपिसकेको थिएँ। त्यो दुरी धेरै टाढा पनि थिएन।'
उनीहरू दस दिन जति मेक्सिको सिटीमै बसे। त्यसपछि एजेन्टले पालैपालो समूह बनाएर ट्याक्सीमा राख्नै मेक्सिको पर्खाल नघाउन लिएर गए। चोरझैं सुटुक्क त्यो पर्खाल चढेर अर्कोपट्टी हाम फालेपछि अमेरिकी भूमि टेकिन्थ्यो।
पर्खाल झन्डै दुई मानिस बराबर अग्लो। तर टिनको पाता जस्तो वस्तुको खुट्किलो लगाइएकाले नाघ्न गाह्रो थिएन। बेलुका आठ/नौ बजेतिर अँध्यारोमा एजेन्टले उनीहरूलाई पर्खालबाट सुटुक्क अमेरिका छिराइदिए।
नेपाली भनिने भारतीय नागरिकले अमेरिका छिर्दै गरेको भिडिओ बनाए। त्यहाँका एजेन्टले मुख्य नेपाली एजेन्टलाई उक्त भिडिओ पठाएपछि उनको जिम्मेवारी पूरा हुन्थ्यो।
यज्ञहरू दंग थिए, अमेरिका टेकियो!
पर्खाल नाघेर दस मिनेट जति हिँडेका मात्र थिए, यज्ञसहित ११ जना अमेरिकी बोर्डर पेट्रोल (सीमा सुरक्षाकर्मी) को घेरामा परे। सुरक्षाकर्मीले उभ्याएर सोधपुछ थाले। नाम, ठेगाना टिपे। तत्काल गाडी आयो र सबैलाई लगे। ११ जनामध्ये रूकुमका दुई जना १८ वर्षभन्दा कम उमेरका थिए। पछि उनीहरूलाई अलग्गै राखियो।
त्यहाँ नेपाली दोभाषेको सहयोगमा कुरा भयो। कहाँबाट, कुन बाटो भएर आएको, एजेन्ट को हो? भन्ने जस्ता सामान्य सोधपुछ गरे। त्यसपछि ११ दिन जति एउटा प्रहरी चौकीको हिरासत जस्तोमा राखे। यसपछि क्यालिफोर्नियास्थित कुनै एक ठाउँमा सारियो।
त्यहाँ पाँच दिन राखेपछि १७/१८ जना नेपालीसहित विभिन्न देशका कुल दुई सय मानिसलाई एउटै जहाजमा चढाएर जर्जिया पुर्याइयो। जर्जियामा धेरै कोठा भएका ठाउँमा उनीहरू सबै बसे। यज्ञले त्यहाँ पनि पहिल्यै पुगेका अरू नेपाली भेटे। उनीहरू ६ महिनादेखि १६ महिनासम्म बस्दै आएकाहरू थिए। तीमध्ये कसैको धरौटीको प्रक्रिया भइरहेको, कतिको धरौटी काटिइसकेको, कोही भने ग्रिनकार्ड पाउन मुद्दा लडिरहेकाहरू र कोही मुद्दा हारेकाहरू थिए।
यज्ञले बुझे- अब वर्षदिन उनले पनि शरणार्थी शिविरमै बिताउनु पर्नेछ।
तर सास रहुन्जेलको आश बटुलेर सोचे- वकिल लिएर मुद्दा लडेँ भने अमेरिकामै बस्न पाउँला!
नेपालमा खतरा भएकाले बस्न नसकेको र बाँच्नका लागि लुकिछिपी अमेरिका छिर्न थालेको दलिल वकिलले यज्ञको तर्फबाट पेश गरिदिए। वकिलमार्फत धरौटीका लागि मिति पनि लिए।
यज्ञ थुनामा परेको झन्डै १६ महिना जति भइसकेको थियो। मन नआत्तिने कुरै भएन। आफन्त र घर परिवार पनि चिन्तित थिए। छोरा जेलमा बसेर मुद्दा लडिरहेको छ भन्ने थाहा पाएर परिवारले यता जग्गा मात्रै बेचेनन्, बैंक तथा गाउँघरबाट ऋण लिन पनि बाध्य भए।
तर त्यहाँको सरकारले नेपालमा कुनै खतरा नभएको भन्दै यज्ञलाई धरौटीमा छोड्न मानेन। उनले त्यहाँको उच्च अदालतमा अपिल गरे। अदालतले मुद्दा छिन्न छ महिना लगायो। धरौटीमा छोड्न फेरि पनि मानेन।
त्यसपछि भने यज्ञ अमेरिका सपनाबाट ब्युँझिएँ। उनलाई यो सपना देख्न चुकाउनु परेको मूल्यले पोल्यो।
अधिकारीहरू आएर उनलाई अझै माथिल्लो अदालतमा मुद्दा लड्छस् कि के गर्छस् भनेर सोधे।
यज्ञले भने- आफ्नै देश फर्किन्छु।
उनको चाहना बमोजिम फिर्ता आउन जहाजको टिकट तयार भयो। जर्जियाबाट न्यूजर्सी आए र एक रात त्यहीँ बसे। अमेरिका जाँदा थुप्रै नेपाली भेटेका उनले यो यात्रामा कोही साथी पाएनन्।
अर्कोदिन त्यहाँबाट न्यूयोर्क अनि कोरिया हुँदै यज्ञ नेपाल आइपुगे।
यति गर्दा यज्ञको ७५ लाख रूपैयाँ जति पैसा झ्वाम भयो।
करोडौं कमाउने सपना बोकेर संगठित मानव तस्करको पछि लागेका यज्ञले उल्टै पुर्ख्यौली पौने करोड रकम हावामा उडाएका थिए। तथ्य नबुझी लहडमा अमेरिका सपना पच्छ्याउँदै हिँडेका यज्ञको मनमा घर फर्किँदा पश्चातापको आगो मात्र रह्यो।
घर कसरी जाने, के होला, परिवारले अस्वीकार गर्ने हुन् कि, गाउँमा कसरी मुख देखाउने, समाजले के भन्ने होला? यस्तै अनेकन प्रश्नले घेरिँदा उनलाई पनामाको जंगलमा खेपेभन्दा बढी सास्ती भयो।
जसै उनी घर पुगे, सारा बोझ उत्रियो। यज्ञको परिवारले उनी सकुशल फिर्ता आएकोमा खुसी मनाए। नआत्तिन भन्दै ढाडस दिए। सुरूका केही दिन गाउँघर जान संकोच भए पनि विस्तारै समय सहज हुँदै गयो। कति साथीहरू घरै भेट्न आए।
साथीहरूले यतै केही गर्नुपर्छ भनेर हौस्याउन थाले। साथ, सहयोग र हौसला पाएपछि उनलाई व्यवसाय गर्ने आँट आयो। उनले पुर्ख्यौली जग्गा सदुपयोग गर्ने सोचे। एक विघा जमिनमा टमाटर, भेडे खुर्सानी, पिरो खुर्सानी लगाए। अहिले उनले व्यवसायिक तरकारी खेती थालेका छन्। लकडाउनका कारण पहिलो प्रयासमा अपेक्षाकृत लाभ मिलेन तर उत्साहित भएको बताए।
यज्ञलाई अमेरिका लैजाने एजेन्टले पैसा फिर्ता दिन्छु भनेका छन्। वर्षदिन पुगिसके पनि एजेन्टको आश्वासन पत्याएर मुद्दा भने हालेका छैनन्।
अचेल यज्ञ विगतको अमेरिका, दुःखकष्ट र उडाएको लाखौं रकमलाई एउटा नराम्रो सपना ठान्छन्। अमेरिका जान सजिलो छ भनेर एजेन्टले भनेकै भरमा पत्याउँदा पाएको दुःख सबैलाई बाँड्न चाहन्छन्। विशेषगरी तिनलाई जो जसरी पनि अमेरिका उड्न तयार छन्।
'अमेरिका जाने अवैध बाटो एजेन्टले भनेजस्तो सजिलो छैन,' यज्ञले भने, 'त्यो बाटो एकदमै छ। ज्यान जोखिममा पारेर लाखौं खर्चेर अमेरिका छिर्न खोज्नु मूर्खता रहेछ भन्ने मैले बुझेँ। तर यति बुझ्न मैले त्यत्रो मूल्य चुकाउनुपर्यो।'
यज्ञले अब पैसा कमाउन कहिल्यै विदेश नजाने प्रण गरेका छन्।
'मेरो श्रम र सिर्जना यहीँ खन्याउने उद्देश्य बनाएको छु,' उनले भने।