पहिराका कारण अवरूद्ध बेनी–जोमसोम सडक चार दिनपछि सोमबार साँझदेखि सञ्चालन भएको छ।
हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएपछि गत शुक्रबारदेखि अवरूद्ध भएको थियो।
वर्षाका कारण ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर बन्द भएको सडकको अवरोधलाई हटाएपछि सोमबार साँझदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभिर लगायतका स्थानमा पहिरो गएकाले शुक्रबार बिहानैदेखि सडक अवरूद्ध भएको थियो।
सडक अवरूद्ध हुँदा मुस्ताङ र उत्तरी म्याग्दीका गाउँमा जान हिँडेका यात्रु समस्यामा परेका थिए। सडक खुलेसँगै बीच बाटोमा अलपत्र परेका यात्रु र सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।
बन्द सडक खुले पनि पहिराको जोखिम भने कायमै रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरूङले बताए।
वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ-ठाउँमा पहिरो जाने क्रम भने रोकिएको छैन।
यात्रु तथा सवारी साधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक गुरूङले बताए। रासस