भारतको उत्तर प्रदेशमा मंगलबार राति रोकिराखेको यात्रुवाहक बसलाई ट्रकले ठक्कर दिँदा १८ यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
टाइम्स अफ इन्डियाका अनुसार लखनऊ-अयोध्या हाइवेअन्तर्गत बाराबांकी जिल्लाको कल्याणी पुलमा रोकिएको यात्रुवाहक बसलाई तीव्र गतिमा आएको ट्रकले राति साढे २ बजेतिर पछाडिबाट ठक्कर दिएको थियो।
बस बिग्रिएकाले रोकिएको थियो। केही यात्रुहरू बसभित्र सुतेका थिए भने केही बाहिर निस्किएका थिए।
उक्त बस हरियाणाबाट अर्को भारतीय राज्य विहार जान लागेको थियो।
रातिको समय भएकाले दुर्घटनाको केही समयपछि मात्रै प्रहरी र स्थानीय पुगेका थिए। ट्रक यति तीव्र गतिमा आएको थियो कि ठक्करपछि बसभित्र सुतेका यात्रु पनि सडकमा पछारिएका थिए।
ठक्कर दिने ट्रकका चालक फरार रहेको उत्तर प्रदेश प्रहरीका अधिकारीले जनाएका छन्।