भारतमा अहिले सयौं हरिणले बाटो काटिरहेको भिडिओ भाइरल बनेको छ।
गुजरातको भावनगरस्थित भेलाभादार हरिण राष्ट्रिय निकुञ्जमा देखिएको दृश्यले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान खिचेको हो। गुजरातको सूचना विभागले राखेको भिडिओ प्रधानमन्त्री नरेन्द्र मोदी समेतले ट्विट गरेका थिए।
उनले 'एक्सिलेन्ट' लेखेर ट्विट गरेका थिए। मोदीले भिडिओ ट्विट गरेपछि भिडिओ भाइरल बनेको हो। यस्तो दृश्य विरलै देख्न पाइने भिडिओमा भनिएको छ।
ती हरिणले पीच गरेको बाटो काट्दा उफ्रिएर गएको देखिन्छ।
निकुञ्जका वन अधिकृत अंकुर पटेलका अनुसार हरिणहरू एकबाट अर्को ठाउँमा यात्रा गरिरहन्छन्। भिडिओ केही दिनअघि ग्राम रक्षक दलका एक जवानले खिचेका थिए। उनका अनुसार त्यहाँ करिब ७००-८०० कालो हरिण थिए।
'सडक दायाँ-बायाँको जग्गा वन विभागको हो। रातिको ड्युटी सकेर बिहान घर फर्किने क्रममा जवानले हरिणले बाटो काटिरहेको दृश्य देखेका थिए। उनले गज्जबको त्यो दृश्य आफ्नो फोनमा कैद गरी सामाजिक सञ्जालमा सेयर गरेका थिए,' पटेलले भने,'भाइरल भएको भिडिओमा ७०० देखि ८०० वटा हरिण देखिन्छन्। त्यहाँ धेरैजसो पोथी र वयस्क हुन लागेका हरिण थिए, जो खैरा रङका थिए। वस्यक भालेहरूमात्रै काला थिए।'
भारतमा कालो हरिण संरक्षित जनावर हो। सन् १९७२देखि नै त्यहाँ हरिण मार्न प्रतिबन्ध लगाइएको छ। शिकारीहरूले धेरै मार्न थालेपछि हरिणको संख्या घटेको थियो। त्यसपछि भारत सरकारले संरक्षण गर्न थालेको हो।
भेलाभादार राष्ट्रिय निकुञ्ज कालो हरिणको लागि चर्चित छ। त्यहाँ अहिले तीन हजार बढी कालो हरिण छन्।