म्याग्दीको धवलागिरी गाउँपालिका–७ बादिकामा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित आठ सामान्य घाइते भएका छन्।
मृत्यु हुनेमा धौलागिरि गाउँपालिका-७ ताकमका २७ वर्षीय विकास सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए।
उनका अनुसार ताकमदेखि दरबाङ हुँदै बेनीतर्फ आउँदै गरेको ग१ज ६८०५ नम्बरको बोलेरो पिकअप जीप दरबाङ–धारापानी सडकअन्तर्गत बादिकाको भिरबाट खसेको थियो।
चालक आकाश रसाइलीको निधार र घाँटीमा चोट लागेको छ।
घाइतेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ।
सडकबाट पल्टिएर सल्लाको रूखमा अड्किदासम्म जीपभित्रै रहेका यात्रु बाँचेका हुन्।
जीपबाट खसेका सुनारको केही तल शव भेटिएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए।
स्थानीयबासी, दरबाङ र ताकमको प्रहरी टोलीले घाइतेको उद्धार गरेर दरबाङ लगेका थिए।
दुर्घटना भएको ठाउँको सडक उकालो र साँघुरो छ। दुर्घटनाको बारेमा थप अनुसन्धान सुरू गरेको प्रहरी निरीक्षक पौडेलले बताए।रासस