नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालयबीच आपसी सहकार्यसम्बन्धी सातबुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाको उपस्थितिमा शुक्रबार उक्त हस्ताक्षर भएको हो। समझदारी पत्रमा समूह तर्फबाट अध्यक्ष कसमस विश्वकर्मा र विश्वविद्यालय तर्फबाट रजिष्ट्रार प्राध्यापक डा. सुबोध शर्माले हस्ताक्षर गरेका थिए।
विश्वविद्यालय र यसअन्तर्गतका संकायमा कार्यरत प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले गर्दै आएका अध्ययन, अनुसन्धान तथा खोजलाई सञ्चार माध्यममार्फत् आमनागरिक र नीति निर्मातासम्म पुर्याउने लक्ष्यका साथ यो समझदारी भएको हो।
समझदारी पत्रअनुसार ती अनुसन्धान तथा अध्ययनका निचोड तथा सुझाव व्यवहारमा कार्यान्वयन गर्न समूहले आफ्ना सञ्चार माध्यम (श्रव्यदृश्य, रेडियो, अनलाइन र छापा) मार्फत् प्रवाह गर्न मद्दत गर्नेछ भने विश्वविद्यालयले पनि आफूले गरिरहेका अध्ययन, अनुसन्धान तथा खोजहरू समूहलाई उपलब्ध गराउनेछ।
हस्ताक्षर कार्यक्रममा उपस्थित विश्वविद्यालयका उपकुलपति थापाले समझदारी पत्रले दुई संस्थाबीच सहकार्यको बाटो खोलेको बताए।
वातावरण पत्रकार समूह ३५ वर्ष पहिले स्थापना भएको वातावरण पत्रकारहरूको संस्था हो भने काठमाडौं विश्वविद्यालय २९ वर्ष पहिले स्थापना भएको प्राज्ञिक संस्था हो।
समझदारी पत्रमा हस्ताक्षर गरेका प्राध्यापक शर्माले विश्वविद्यालयमा देशको आवश्यकताअनुसारका विषय अध्यापन गराउँदै आएको र ती विषयका अध्ययन तथा अनुसन्धानलाई पनि सँगै लगिरहेको बताए।
वातावरण पत्रकार समूहका अध्यक्ष विश्वकर्माले अध्ययन-अनुसन्धानलाई जनतासम्म पुर्याउने मुख्य लक्ष्यका साथ समझदारी गरिएको उल्लेख गरे।