अटिजम भनेको बच्चामा देखिने मष्तिस्कको अवस्था हो। यस्ता बच्चाको बोलीमा समस्या देखिन्छ। उनीहरूलाई बुझ्न र बुझाउन गाह्रो हुन्छ। समाजमा कसरी मिलेर बस्ने भन्ने ज्ञान हुन्न । एक किसिमको अनौठो व्यवहार देखाउँछन्।
उमेर नपुगि छिटो जन्मिएको बच्चामा, जन्मिएपछि कुनै समस्या आयो भने र उमेर धेरै भएका आमा बाबुबाट जन्मिएका बच्चामा अटिजम देखिनसक्छ।
अहिलेको अवस्थामा वातावरण प्रदूषणलेसमेत यसको खतरा बढ्छ। तर अटिजम यही कारणले हुन्छ भनेर अहिलेसम्म पुष्टि हुन सकेको छैन।
यो जीन र वातावरणीय सम्बन्धसँग जोडिएको हुन्छ।
कुनै पनि बच्चाको हुर्किने क्रम आफ्नै किसिमको हुन्छ। ६ महिनामा बस्ने, बाबा, ममा (आमा) भन्ने, १ वर्ष पुग्दा समातेर हिँड्ने मामा, बाबा भन्ने बाइ गर भन्दा गर्ने नमस्कार गर भन्दा गर्ने हुन्छ। तर बोल्ने उमेरमा नबोल्ने, बोलाउँदा नबोल्ने भयो भने त्यो अटिजमको लक्षण हुनसक्छ।
यो रोग होइन। यो अवस्था हो। यसमा औषधि भन्दा पनि थेरापीबाट उपचार गरिन्छ। यो पूर्ण रूपमा ठीक हुन कठिन छ। हरेकमा देखिने अटिजमको लक्षण फरक हुनसक्छ। थेरापीबाट अटिजमको जटिलता कम गर्न सकिन्छ।
अटिजम भएको बच्चामा सोच्ने क्षमता नै कमजोर हुनसक्छ। तर अटिजम भएको बच्चालाई सिकाउन सकियो भने स्वतन्त्र जीवन जिउनसक्छन्।
न्युटनमा पनि अटिजम थियो। बिलगेटसमा पनि अटिजमको केही लक्षण छ। त्यस्तै एलन मस्कमा पनि अटिजमको लक्षण भएको उनी आफैंले भनेका छन्। त्यसैले अटिजम भएका बालबालिकाले आफ्नो भविष्य सुन्दर बनाउन सक्दैनन् भन्ने होइन। उनीहरुको बौद्धिक क्षमता कमजोर हुँदैन।
समयमा पहिचान गरेर थेरापी गर्न सकियो भने उनीहरूले धेरै गर्न सक्छन्। अटिजम भएका बच्चामा झट्ट हेर्दा शारीरिक रूपमा समस्या देखिदैन। तर बाहिरबाट नदेखिने समस्याले धेरै अफ्ठ्यारो पार्छ।
अटिजम भएका बालबालिकाको हेरचाहमा अभिभावको ठूलो भूमिका हुन्छ।
बालबालिकाले उमेरअनुसारको गतिविधि गरेका छैनन् वा असामान्य व्यवहार देखाउँछन् भने अटिजम भएको हुनसक्छ।
समयमै पहिचान गर्न सके त्यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सकिन्छ।
त्रिवी शिक्षण अस्पतालकी उप-प्राध्यापकसमेत रहेकी बालरोग विशेषज्ञ डा. मेरिना श्रेष्ठसँग अटिजमबारे हामीले भिडिओ कुराकानी गरेका छौ।