लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ।
राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरूद्ध भएको हो।
सडक भाँसिएर भत्किएकोले बिहानदेखि राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।
आइतबार बेलुकादेखि आंशिक रूपमा बन्द रहेको राजमार्ग आज बिहानदेखि पूर्ण रूपमा बन्द रहेको छ।
भाँसिएको सडक भत्काएर किनारबाट पर्खाल लगाउने कार्य भइरहेको प्रवक्ता ओझाले जानकारी दिए।
उनले भने,‘पर्खाल निर्माण गर्न दुई/तीन दिन लाग्ने देखिएको छ, त्यसपछि मात्रै राजमार्ग सञ्चालनमा आउँछ।’
राजमार्ग अवरूद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडी लगायतका स्थानका लागि छुटेका एक सयभन्दा बढी सवारीसाधन रोकिएपछि यात्रु अलपत्र परेका छन्।
वर्षातको समयमा पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेला अवरूद्ध हुने गरेको छ। रासस