काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको छ।
गत असार १६ गते कामपाले विगत २८ वर्षदेखि कर तिर्नका लागि आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो।
अहिले सम्पर्कमा आउनेमध्ये केहीले पहिलो किस्तास्वरूप केही रकम बुझाएका छन्, केहीले विवरण पेस मात्र गरेका छन्।
केहीले विवरण पेश गर्ने समय माग गरेका छन्। कतिपयलाई समय तोकी बोलाइएको छ भने कतिपयले अझै सम्पर्क गरेका छैनन्।
सम्पर्कमा आएकामध्ये चार वटा व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा आजसम्ममा एक करोड ५३ लाख रूपैयाँ राजस्व बुझाएका छन्। यसरी कर बुझाउनेमध्ये सबभन्दा धेरै युनाइटेड विल्डर्स एण्ड इञ्जिनियरिङ (वर्ल्ड ट्रेड सेन्टर)ले एक करोड रूपैयाँ बुझाएको छ। यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले आउँदो १९ दिनभित्र सम्पत्तिको मूल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजस्व विभागमा निवेदन दिएका छन्।
वडा १४ को नेसनल हस्पिटलले रु २४ लाख, वडा १४ कै शहीद मेमोरियल हस्पिटलले रु १९ लाख २० हजार दाखिला गरेका छन्। नाम सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लबले रु १० लाख दाखिला गरेर बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ।
वडा नं ३० को स्टार मलले सम्पत्तिको विवरण पेस गरेको छ भने वडा नं १३ को काठमाडौं इञ्जिनियरिङ कलेजले १० दिनभित्र विवरण पेस गर्ने समय माग गरेको छ। कामपाले पहिलो चरणमा गएको असार १६ गते सम्पत्ति कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गरेको थियो।
३० दिनभित्र सम्पर्क गर्न आउन आग्रह गर्दै सूचना सार्वजनिक भएको अन्तिम सातासम्म पनि करदाताहरूले सम्पर्क नगरेपछि अन्तिममा करदाताको कार्यस्थलमा गएर ‘सम्पर्कमा नआए सिलबन्दी गर्ने’ सूचनासहित महानगरले माइकिङ गरेको थियो।
कामपाको सक्रियतापछि लामो समयदेखि असुल हुन नसकेको रकम उठ्न थालेको छ भने केहीले विवरण बुझाएर रकम असुल गर्ने मिति तय गरेका कामपा राजस्व विभाग प्रमुख डा शिवराज अघिकारीले जानकारी दिए।
४० ठूला करदाताको नाम सार्वजनिक गरिँदै
कामपाले अबको दुई दिनभित्र लामो समयदेखि कर तिर्न बाँकी रहेका र सम्पर्कमा नआएका ४० ठूला करदाताको नाम सर्वजनिक गर्ने तयारी गरेको छ।
‘अझै पनि धेरै करदाताले आफ्नो विवरणसमेत दिन मानेका छैनन्। विवरण दिएपछि कानूनीरूपमा करको दायरामा आउन पर्छ भन्ने डरले ठूला करदाता सम्पर्कमा नै आउन मान्दैनन्’, प्रमुख डा अधिकारीले भने।
समयमा नै कर तिरेन भने प्रत्येक वर्ष दश प्रतिशतका दरले जरिवानास्वरूप रकम वृद्धि हुँदै जान्छ तर कामपाले विगतको दुई वर्षमा भने कोरोनाका कारण करदातामा समस्या परेको भन्दै जरिवाना करमा छुट दिएको छ। यसो हुँदा पनि करदाता सम्पर्कमा नआएपछि कामपाले ताकेता गर्न थालेको हो।
धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन्, तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ७० करोड असुल गर्ने तयारीस्वरूप अहिले अभियानको रूपमा नै कर संकलन गरिरहेको छ।
सम्पर्कमा आउनेहरूले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ। नआउनेहरूलाई विभागले कडाइका साथ कानूनी कारबाही अगाडि बढाउने तयारी गरेको छ।
डा अधिकारी भन्छन्, ‘सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजश्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौं।’
सम्पर्कमा आएकाबाहेक वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स, वडा नं १३ को नेपाल रेडक्रस सोसाइटीले अहिलेसम्म कहिल्यै सम्पत्ति तथा घरजग्गासम्बन्धी विवरण नै बुझाएका छैनन्।
घरजग्गासम्बन्धी विवरण नबुझाउने अन्य ठूला करदातामा वडा नं १४ का आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान र एलआरआइ स्कुल, वडा नं १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा नं ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा नं ४ का देवेन्द्र श्रेष्ठ छन्।
यसैगरी वडा नं २२ को आरबी कम्प्लेक्स, वडा नं २४ को सुरज आर्केट, वडा नं २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा नं २८ को काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट र वडा नं ३० को गोपालजी प्रपर्टिज प्रालि छन्।
कामपाले यस वर्ष रु १० अर्ब २३ करोड असुल गर्ने लक्ष्य लिएको छ। गत असोज १ गतेदेखि कामपाले अनलाइन प्राणलीमार्फत् राजस्व संकलन गरिरहेको छ।
हाल कामपामा अनलाइनमा १६० करदाता जोडिएका कामपाले जानकारी दिएको छ।