अमेरिकी टेलिभिजन च्यानल सिएनएनले कोरोनाभाइरसविरूद्धको खोप नलगाइकनै अफिस आउने तीन जना कर्मचारीलाई जागिरबाट निकालिदिएको छ।
कम्पनीका अध्यक्ष जेफ जुकरले स्टाफहरूलाई बिहीबार दिएको मेमोमा तीन कर्मचारीलाई बर्खास्त गरिएको उल्लेख गरेका छन्। उनले अरू कर्मचारीलाई पनि कार्यालयमा आउन खोप अनिवार्य लगाउनु पर्ने बताएका छन्।
जागिरबाट निकालिएका कर्मचारीहरू को हुन् र उनीहरूको सिएनएनको कुन अफिसमा काम गर्थे भन्ने खुलाइएको छैन।
सिएनएनले कोरोना खोप नलगाउनेविरूद्ध शुन्य सहनशीलताको नीति लिएको जुकरको भनाइ छ।
सिएनएनका धेरैजसो कार्यालयहरू स्वेच्छिक रूपमा आउने कर्मचारीहरूका लागि खुलिसकेका छन्।
एटलान्टा, वासिङ्टन, लस एन्जलसमा भएका अफिसमा मास्क अनिवार्य गरिएको छ।
यसअघि सिएनएनले सेप्टेम्बरदेखि सबै कर्मचारी अफिस आउने योजना बनाएको थियो। पछिल्लो समय कोरोनाभाइरसको संक्रमण फेरि बढेपछि उक्त योजना पछि धकेलिएको छ।
अमेरिकामा कोरोनाविरूद्धको खोप सर्वसुलभ छ तर मानिसहरूले खोप लगाउन मानिरहेका छैनन्।
राष्ट्रपति जो बाइडेनले खोप लगाउनेलाई एक सय डलरका दरले रकम दिन भनेका छन्।