प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गर्न पुगेका शिक्षकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले प्रदर्शनमा पुगेका करिब डेढ सय शिक्षकहरूलाई नियन्त्रणमा लिएको हो।
महासंघले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रूपमा बढुवा गराइनुपर्ने, द्वन्द्वपीडित शिक्षकहरूको समस्या समाधान गरिनुपर्ने, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलब, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्च मावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न माग राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएको छ।