आङ फुर्वा शेर्पाले हिमाल आरोहणको अनुभव बटुल्न थालेको १४ वर्ष भयो।
उनीसँग विश्वको अग्लो हिमाल सगरमाथा १० पटक चढिसकेको अनुभव छ। शेर्पा हालै विश्वको दोस्रो हिमाल केटु हिमालको सफल आरोहणपछि पोखराको लेकसाइडस्थित स्नो ल्याण्ड होटलमा भेटिए।
साथमा १० जना आरोही पनि थिए। उनी आरोहण दलको नेता। १९ वर्षको उमेरमा पहिलोपल्ट सगरमाथा हिमाल चढेका शेर्पाले अहिलेसम्म आठ हजार मिटर अग्ला पाँच वटासहित दर्जन बढी हिमाल आरोहण गरिसकेका छन्। हिमालय पथ प्रदर्शकको परिचय पत्र भने अझै पाउन सकेका छैनन्।
‘हामी दर्जन बढी हिमाल चढिसक्यौं। हाम्रो पेशा नै हिमाल चढ्ने र अरूलाई चढाउने हो तर पनि माउण्टेन गाइडको परिचय पत्र दिन आनाकानी गरिएको छ। यसले बेलाबेला समस्या सिर्जना गर्दोरहेछ,’ उनले भने,‘जीवनलाई जोखिममा राखेर रमाउने बानी परेर होला हिमाल आरोह अवरोहका कठिनाइ सामान्य लाग्छन् तर बेला बेलामा आरोहीको प्रमाण माग्दा र देखाउन नसक्दा भने कहिलेकाहीँ खिन्न लाग्ने गर्दछ।’
हिमालयन गाइड्स नेपालमा आबद्ध भएर माउण्टेनियरिङ गाइड गर्दै आएका उनले हालसम्म १५ बढी विदेशी टोलीलाई सगरमाथा, केटु लगायतका हिमालको सफल आरोहण गराइसकेका छन्।
‘विदेशमा आरोही हौं भन्दा सम्मान पाउँछौं तर आफ्नै देशमा बेलाबेला निकै दुःख पाइन्छ। परिचयपत्र खोजिन्छ तर सरकारले दिँदैन’, उनले पछिल्लो अनुभव सुनाउँदै भने।
‘हालै केटु हिमाल आरोहणमा जाँदा हामीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी र प्रहरीबाट अवरोध भयो, केरकार बढी गरियो र रोकियो’, शेर्पाले भने, ‘हामीले आरोही हौं, भनेर भन्दा पनि उहाँहरूले तपाईं आरोही भन्ने प्रमाण के छ ? प्रमाण देखाउनुस् भन्नुभयो, करिब दुई घण्टा रोकेर तीन पेज लामो कागज बनाएर मात्र छोडियो।’
परिचयपत्र नहुँदा गुगलमा नाम सर्च गरेर फोटो समाचार देखाउनुपरेको अनुभवसमेत उनीसँग छ।
‘पाकिस्तानको इमिग्रेसनमा हामीलाई सामान्य जाँचपछि छाडियो तर आफ्नो देशमा घण्टौं रोकियो,’ शेर्पा भन्नुहुन्छ, ‘आठ हजार मिटर अग्ला हिमाल चढेका व्यवसायिक आरोहीहरूलाई हिमालय पथ प्रदर्शकको प्रमाणपत्र सरकारले सहज व्यवस्था गरिदिए हुने थियो।’
उनले नेपाल माउण्टेनको देश भनेर विश्वमा चिनिए पनि पर्वतारोहण पर्यटनलाई सरकारले प्राथमिकता दिन नसकेको भन्दै प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनसमेत सुझाव दिए।
अग्लो हिमाल सगरमाथा भए पनि आरोहणका हिसाबले दोस्रो अग्लो हिमाल केटु भने निकै जोखिम रहेको उनको अनुभव छ।
‘केटु आरोहण चार पटकको प्रयासमा दुई पटक सफल भयो। अरू हिमाल एक पटकमा आरोहण सफल भएको थियो।’
पाकिस्तानमा पर्ने आठ हजा ६११ मिटर अग्लो केटुमा हावा अत्यधिक चल्ने र ‘रफ फलिङ’ बढी हुने भएकाले निकै चुनौती मानिन्छ।
उनले तुलनात्मक रूपमा केटुमा ज्यानलाई जोखिममै राखेर आरोहण गर्नुपरेको अनुभव समेत सुनाए।
यसपालिको आरोहण अमेरिकन लगायतको नौ जनाको टोलीलाई आरोहणको गाइडको रूपमा उनको टोली केटु चुचुरोमा पुगेको थियो।
आङफुर्वा शेर्पाको टोलिमा, सिद्धिबहादुर तामाङ, दोर्जे ग्याल्जेन शेर्पा, पासढावा शेर्पा, कामदोर्जी शेर्पा, मिङदोर्जे शेर्पा, दावा नुपु शेर्पा, लाक्पा ओङचु शेर्पा, मिङमार शेर्पा र कम्पनीका म्यानेजर भोला पौडेल सहभागी थिए।
करिब दुई घण्टा चुचुरोमा बसेर फर्किएको उनको टोलीले बाटोमा तीन चार जनाको शवसमेत देखेको सुनाए।
सन् २००९ देखि म्याडिसन हिमालयन गाइड्स नेपाल कम्पनीसँग आबद्ध रहेर व्यवसायिक आरोहणमा सक्रिय शेर्पा नेपालको सुन्दरता हिमालमा लुकेको र यसको प्रचारप्रसारलाई विस्तार गर्न सके देशको अर्थतन्त्रमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनकै टोलीमा रहेका सोलुखुम्बुका दोर्जे ग्लाल्जेन शेर्पा पनि व्यवसायिक आरोही हुन्।
उमेरले ३८ वर्ष पुगेका ग्याल्जेनसँग १९ पटकसम्म सगरमाथा आरोहण गरेको अनुभव छ। तर उनीसँग पनि माउण्टेन गाइडको लाइसेन्स छैन।
केटु हिमाल पहिलोपल्ट आरोहण गर्न सफल उनले हिमाल आरोहण चुनौतीपूर्ण पेशा भएको बताउँछन्।
‘जीवनको भर हुँदैन, यो कठिन काम हो, तर पनि यही चुनौतीसँग नै जीवन चलिरहेको छ।’
धेरै पल्ट सगरमाथा लगायताका अन्य हिमाल आरोहणको अनुभवले अहिले आत्मविश्वास बढ्दै गएको उनी सुनाउँछन्।
उनको पनि एउटै माग छ सरकारले दर्जनौं पटक एभरेष्ट चढेकालाई बिनाझण्झट हिमालय पथप्रदर्शकको लाइसेन्स देओस्।
उक्त टोलीमा कान्छा मानिने २५ वर्षीय मिङ्गदोर्जे शेर्पाले २१ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर व्यवसायिक आरोही यात्रा सुरू गरेको बताए।
अहिले हिमालयन गाइड्स नेपालमा जोडिएर आरोहण पेशामा संलग्न उनी सरकारले छिट्टै नीति ल्याएर माउण्टेन गाइडको रूपमा समेट्न आग्रह गरे।
हिमालयन गाइड्स नेपाल नामक संस्थाले अहिले विदेशीहरूलाई हिमाल आरोहण गराउँदै आएको छ।
कम्पनीका म्यानेजर भोला पौडेलले कम्पनीमा पर्यटन विभागबाट २०० बढी हाइ अल्टिच्युट पोर्टरको मान्यता पाएका आरोही रहेको बताए।
सरकारबाट हिमालय पथप्रदर्शकको प्रमाणपत्र पाउन नसक्दा दर्जनौं पटक माउण्ट एभरेष्ट चढेका व्यवसायिक आरोहीलाई अन्याय भएको उनको भनाइ छ।
‘एउटा निश्चित मापदण्ड पूरा गरेर निरन्तर हिमाल आरोहण गरिरहेकालाई सहज रूपमा हिमालय पथप्रदर्शकको प्रमाणपत्र दिनुपर्छ भन्ने हाम्रो माग हो।’
पौडेलले कोरोनापछि आरोहण गर्ने विदेशीको सङ्ख्या १० प्रतिशतमा झरेको सुनाए।
‘अहिले पनि हिमाल आरोहणका लागि थुप्रै विदेशीहरूको ‘इन्क्वायरी’ आउने गरेको छ तर नेपाल आउने क्वारेन्टिन बस्नुपर्ने लगायतका झझण्टले पर्यटकलाई निराश बनाएको छ।’
उनले डबल डोज खोप लगाएका र पिसिआर नेगेटिभ आएका पर्यटकलाई आरोहणका लागि सहज बनाउनुपर्ने बताए।
उनका अनुसार आठ हजार मिटर अग्ला हिमालको लागि अप्रिल र मे महिना अरू हिमालका लागि सेप्टेम्बर, अक्टुबर नोभेम्बर महिना उपयुक्त मानिन्छ।
एक जना विदेशीका लागि कम्तीमा ३५ हजार डलर देखि ९० हजार डलरसम्म हिमाल आरोहणको लागि खर्च लाग्ने गरेको छ। नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव कुलबहादुर गुरूङले आरोहीको कार्य अनुभवलाई तीन तहमा विभाजन गरी ब्लाक बुक, ब्लु बुक र रेड बुक जारी गर्दै आएको जानकारी दिए।
‘बेसक्याम्पमा बसेर क्लाइम्बिङ सपोर्टरको काम गरेको तीन वर्ष पछि ब्लुबुक दिने त्यसको पनि तीन वर्ष पूरा भएपछि रातो बुक जारी गर्दछौं।’
उनले समयानुसार यस बुकमा पनि परिस्कृत र परिमार्जित बनाएर जानुपर्ने भएकाले अहिले त्यसको काम भइरहेको जानकारी दिए।
उनका अनुसार हिमालय पथप्रदर्शकको लागि एनएमएबाट उच्च पर्वतारोहण तालिम लिइसकेका जसले पहिलो, दोस्रो र तेस्रो चरण पार गरेका छन् उनीहरू नेसनल माउण्ट गाइड बन्ने प्रावधान छ भने अन्तर्राष्ट्रिय हिमालय पथप्रदर्शक सदस्यता लिन अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक महासंघले (आइएफएमजिए) को एउटा निश्चित कोर्ष पूरापछि मान्यता पाउने प्रावधान रहेको छ। यसरी मान्यता प्राप्त माउण्टेन गाइडको अहिले जम्मा ७० जनामात्र छन्।
गुरूङले नेपाल सरकारले एनएमबाट रातो किताब प्राप्त र उच्च पर्वतारोहण तालिम गरेकालाई दिने र त्यसमा ‘आस्पिरियन्ट लेभल’ नचाहिने निर्णय भएको बताए।
उनले भने, ‘थुप्रै पटक हिमाल आरोहण गरेका रेड बुक पाएका र उच्च पर्वतारोहण तालिम लिएका आरोहीहरूलाई हिमालय पथप्रदर्शक प्रमाणपत्र दिन सरकार सहमत भए पनि पछि विवाद निस्किएकाले रोकियो।’
विसं २०७६ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागले नेपालमा विख्यात आरोही रहेका जनाउँदै उनीहरूको लागि नेपाल पर्वतारोहणको संघको सिफारिसमा हिमालय पथप्रदर्शक प्रमाणपत्र दिने भनेर निर्णय गरेको थियो।
सरकारले यस विषयमा एनएमएसँग राय माग्दा रातो बुक प्राप्त उच्च पर्वतारोहण तालिम लिएर निरन्तर आरोही पेशामा संलग्नलाई दिन मिल्ने सुझाव दिएको उनको भनाइ छ।
‘यस विषयमा आइएफएमजिएबाट हिमालय पथप्रदर्शकको प्रमामणपत्र लिएका आरोहीले असहमति जनाएपछि यो विषय अदालतमासम्म पुगेको छ, जुन अहिले विचाराधीन अवस्थामा छ।’
एनएमएले ४४ दिनको आधारभूत माउण्टनियरिङ तालिम मनाङ र र एड्भान्स कोर्ष लाङटाङमा दिँदै आएको छ।
संघका अनुसार आधारभूत तालिम लिएका ६७५ जना र एड्भान्स तालिम लिएका ७८५ जना रहेका छन्। विश्वमा १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल छन् त्यसमा आठ वटा नेपालमा पर्छन्। रासस