बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२१ र २२ पुरैनीमा रहेको ‘कान्ति ताल’ संकटमा पर्दै गएको थियो। वस्तु चौपाया र मानिसहरूको खुला प्रवेश, फोहोर आदिका कारण यसको अस्तित्व संकटमा थियो।
हाल नेपालगञ्ज उपमहानगरपालिकाले यसको संरक्षण थालेको छ। तालको संरक्षण र पुनर्निर्माण गरी चिटिक्क पार्न उपमहानगर लागेपछि स्थानीय पनि दंग छन्।
२५ बिगाहा क्षेत्रफलमा फैलिएको उक्त प्राकृतिक तालको वरिपरि उपमहानगरले इँट्टाको वाल र त्यसमा रेलिङ लगाएको छ। वरिपरि सात मिटर कालोपत्रे सडक, डेढ मिटर फुटपाथ र दुई मिटर पार्किङ एरिया बनाइएको छ।
तालको चार ठाउँमा व्यवस्थित सिँढी निर्माण गरिएको छ।
तालको चारैतर्फ चार सय वटा रूखका बोटहरू रोप्न थालिएको छ। यी रूख रोप्न भने राष्ट्रपति चुरे तराई-मधेश संरक्षण विकास समिति लम्की इकाईले सहयोग गरेको हो।
झन्डै तीस लाखको लागतमा तालमा चार वटा आर सिसी भर्याङ, चार सय बिरूवा रोप्नका लागि समितिले बजेट दिएको थियो।
अब त्यहाँ डुंगा सेयरको व्यवस्था गरिने भएको छ।
उपमहानगरपालिकाका इञ्जिनियर सुरज शर्माका अनुसार वरिपरि विभिन्न स्थानमा चार वटा जति प्रतीक्षालय निर्माण गरिने, फुटपाथमा सबै टायल बिच्छ्याउने, वरिपरि रेलिङमा पेन्टिङको काम हुनेछ। अझै केही भागमा सडकको काम भइरहेको उनले सेतोपाटीलाई बताए।
ताल सबैका लागि र सधैंका लागि खुला राखिने इञ्जिनियर शर्माले बताए।
‘हुनेले जीप, कार लगाएका साना गाडीबाटै २५ बिगाहा क्षेत्रफल तालको फन्को लगाउन पाउने छन्,’ उनले भने, ‘कोही हिँड्न चाह्यो र शारीरिक व्यायाम गर्न चाह्यो भने हिँडेरै तालको परिक्रमा गर्न सक्नेछन्।’
यो तालको निर्माण सम्पन्न भैसकेपछि युवायुवती, जेष्ठ नागरिक तथा बालबालिका सबैका लागि आकर्षणको केन्द्र बन्ने देखिन्छ।
साइक्लिनिङ गर्नेका लागि समेत यो ठाउँ आकर्षक गन्तव्य बन्ने सम्भावना छ।
‘आसपासमा एउटा राम्रो खालको बस्ती बसोस् र पर्यटकीय गन्तव्य पनि बनोस् भन्ने उद्धेश्यका साथ संरचना निर्माण गरिएको छ,’ इञ्जिनियर शर्माले भने।
ताल खनेर केही गहिरो बनाउने योजना रहेको तर वर्षा सुरू भएकाले माछापालनका लागि टेन्डर आह्वान भएको हुँदा यो पटक त्यो सम्भव नभएको इञ्जिनियर शर्माले बताए।
भविश्यमा कुनै दिन ताल गहिरो बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
यसअघि यो तालमा माछापालन हुँदै आएको थियो।
यसपटक फेरि भ्याटबाहेक २२ लाख ५१ हजारमा माछा पाल्नका लागि टेन्डर आह्वान भइसकेको नेपालगञ्ज २२ का वडाध्यक्ष विद्याराम बर्माले जानकारी दिए।
बर्माका अनुसार यो ताल निर्माणको काम नेपालगञ्ज नगरपालिकाले २०७१/०७२ सालदेखि नै सुरू भएको हो। तालको वरिपरि पर्खाल निर्माण गर्न झन्डै ३ करोड ९० लाखको टेन्डर आह्वान गरिएको थियो।
त्यसपछि वरिपरिको बाटो कालोपत्रे गर्न, विद्युत पोल, ब्लक, रेलिङ जस्ता संरचना निर्माण गर्न ९ करोड बढीको टेन्डर आह्वान नेपालगञ्ज उपमहानगरपालिकाबाट भएको वडाध्यक्ष बर्माले बताए।
‘नगरपालिकाले यो ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्धेश्यका साथ जनप्रतिनिधि आउनुभन्दा पहिलेदेखि नै गुरू योजना बनाएर काम गरिरहेको छ,’ बर्माले भने,‘नेपालगञ्जबासीलाई व्यस्त दैनिकीबाट साँझ बिहान तालमा घुम्न आउँदा आनन्दित तुल्याउने गराउनु छ।’
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले झन्डै दस करोड बढी खर्चेर ताललाई आकर्षक गन्तव्यस्थल बनाउन खोजिएको बताए।
तालमा बोटहरू सञ्चालन गरिने त्यसले सर्वसाधारणलाई मनोरञ्जन दिने उनको भनाइ छ।
‘नेपालगञ्जजस्तो पश्चिम नेपालकै प्रमुख व्यापारिक सहरमा नजिकै यत्तिकै ठूलो ताल पाउनु सौभाग्यको कुरा हो,’ राणाले भने,‘व्यस्त दैनिकी भएका सर्वसाधारण फुर्सदको समयमा तालमा गएर रमाउन सकून् भन्ने सोचका साथ ताललाई आकर्षक बनाउन खोजिएको हो।’
मेयर राणाले ताल झन्डै ५०/६० वर्षदेखि अस्तित्वमा रहेको बताए।
राणाले कान्ति ताल विगतमा आसपासका जमिनमा सिँचाइका लागि प्रयोग गर्ने गरिएको जानकारी दिए।
स्थानीय जेष्ठ नागरिकहरूले तालमा परापूर्वककालदेखि सिक्टाको पानी आउने हुँदा ठ्याक्कै यो ताल कहिले बनेको भन्नेबारे स्पष्ट जवाफ कसैसँग नरहेको तर्क गरे।
ताल नजिकै घुम्ती पसल सञ्चालन गरेर बस्ने ७० वर्षीय नबि शेखले आफूले पहिलेदेखि ताल यस्तै देख्दै आएको बताए।
स्थानीय २६ वर्षीया रबिना शेखले आफू जन्मेदेखि नै ताल देख्दै आएको भए पनि पछिल्लो समय तालमा झार जंगल जागेर कुरूप बन्दै गएको समयमा अहिले ताललाई चिटिक्कै पार्न लागेको देखेर खुसी लागेको बताइन्।
वस्तु चौपायादेखि सबैको खुला प्रवेश हुँदा ताल थप फोहोर बन्दै जाँदा स्थानीयहरू चिन्तित रहे पनि नगरपालिका ताल संरक्षणमा जुट्नु सुखद् पक्ष भएको उनले बताइन्।
‘आज तलाउले गर्दा हाम्रो ठाउँ पनि चिनिने थालेको छ,’ उनले भनिन्,‘यो ताल हेर्न टाढा-टाढाका मानिसहरू यहाँ आउन थालेका छन् र यहाँ चहलपहल बढ्दै जान थालेको छ।’
तालमा पार्क बन्छ र डुंगा चल्नेछन् भन्ने सुनेर स्थानीय खुसी छन्।
‘यति ठूलो कान्ति ताल हालसम्म ओझेलमा पर्दै आएको थियो,’ स्थानीय राहुल यादवले भने, ‘तालको वरिपरि आकर्षक संरचना बनाएपछि बल्ल ताल हेर्न लायक भएको छ।’
उपमहानगरले ताल माछा पालनका लागि ठेक्कामा लगाएको भने उनलाई चित्त बुझेको छैन। ताललाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने हो भने माछा पाल्नका लागि ठेक्कामा लगाउन नहुने धारणा राखे।
‘बरू तालभित्र प्रवेशका लागि थोरै भए पनि शुल्क तोकौं र भित्र डुंगा गर्नेहरूका लागि पनि केही शुल्क तोकौं,’ यादवले प्रश्न गरे ‘अब पनि माछा पाल्नका लागि ठेक्का लगाउने हो भने त यति चिटिक्क पारिएको तालको के गरिमा जोगिएला र?’
तालको संरक्षण गर्न तथा पूर्वाधार विकासमा स्थानीय सरकारले लगानी गरेर त्यस क्षेत्रको पहिचान फैलाउन, पर्यटकीय क्षेत्रको विकास गर्न भविष्यमा ठूलो टेवा पुग्ने उनले आशा व्यक्त गरे।