नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।
भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा पहिरो खस्दा सो सडकखण्ड अवरूद्ध भएको थियो। करिब १३ घण्टापछि सो सडकखण्ड दुईतर्फी खुलेको हो।
पहिरो पन्छाइएपछि आज बिहान ९ बजेदेखि सडक दुईतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
बिहीबार राति ८ः२० बजे सेतीदोभानमा पहिरो खसेको थियो। सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
सो सडकअन्तर्गत १४ किलोमा भने सडक एकतर्फीमात्रै सञ्चालनमा छ।
सो स्थानमा कालोपत्र भासिएकाले अहिले सडक एकतर्फी मात्रै सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण बिहीबार रातिदेखि नै सडक भासिएको हो। सडक भासिने क्रम अझै रोकिएको छैन। रासस