नारायणगढ–मुग्लिन सडक खण्डको चौध किलोमा सडक भासिए पनि सवारी आवागमनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।
चौध किलो क्षेत्रमा सडक फराकिलो भएकाले एकाछेउको सडक भासिए पनि दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ नभएको प्रहरीको भनाई छ। डिभिजन सडक कार्यालय, चितवनले पनि नारायणगढ–मुग्लिन सडकमा यातायात सञ्चालनमा कुनै अवरोध नरहेको जनाएको छ।
सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा आए झै सडक भासिएकै कारण सवारी आवागमन नरोकिएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए।
चौधकिलो भन्ने ठाउँमा दुई मिटर गहिरोगरी ३८ मिटर सडक भासिएको छ। ‘त्यहाँ बढीमा चार मिटर सडक भासएको छ,’ खनालले भने, ‘त्यो ठाउँमा सडक १३/१४ मिटर फराकिलो भएकाले चार मिटर भासिएकै आधारमा यातायात रोकिँदैन।’ उनले भासिएको क्षेत्र बाहेकको भागबाट दुईतर्फी सवारी सञ्चालन भइरहेको जानकारी दिए।
सडक भासिएको ठाउँबाट करिब २० मिटर तल त्रिशूली नदी छ । नदीको कटानले सडक भासिएको अनुमान गरिएको छ । नदीको सतह घटेपछि तलबाट मर्मत थालिने खनालले बताए। सडक भासिएको ठाउँमा पर्खाल लगाएर सडक सुरक्षित गर्ने तयारी भइरहेको छ। सोही सडकको सेतीदोभानमा खसेको पहिरो पन्छाएपछि शुक्रबार बिहान ९ बजेदेखि सडक दुईतर्फी नै सञ्चालनमा अहाएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाका अनुसार नियमित वर्षा भइरहेकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम भने छ। सडक भासिएको ठाउँमा भने यातायात सञ्चालनमा रहेको उनले बताए। पछिल्लो समय वर्षा सुरु भएसँगै एकाएक चौधकिलोमा सडक भासिएको हो । बिहीबारदेखि भासिन सुरु भएको यो ठाउँको सडक बिहीबार अझ धेरै भारिएको प्रहरीले जनाएको छ। रासस