राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै डाक्टर, नर्स र स्वास्थ्यकर्मी संघर्षमा उत्रिएका छन्।
तुलसीपुर क्षेत्रमा कार्यरत झन्डै तीन सय बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर न्यायको माग गर्दै आइतबार सडकमा आएका हुन्।
बिहान तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट सुरू भएको विरोध र्यालीले बजार परिक्रमा गरेको थियो। उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
र्यालीमा सहभागीले ‘वी वान्ट जस्टिस, डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेहरू- मुर्दावाद’ लेखिएका प्लेकार्ड बोकेका थिए।
र्यालीमा मेसु सिंह, राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद शर्मा, कोरोना विषेश अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण वलीसहित विभिन्न निजी क्लिनिकमा कार्यरत डाक्टर, नर्स र स्वास्थ्यकर्मीको सहभागिता थियो।
बजारको परिक्रमापछि राप्ती प्रादेशिक अस्पतालको प्रांगणमा पुगेर उनीहरूले कोण सभा गरेका थिए। कोण सभाका वक्ताहरूले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा प्रवेश गरी दिनदहाडै मेसु सिंहमाथि मोसो दल्नुले सबै स्वास्थ्यकर्मीको अपमान भएको तथा सुरक्षा चुनौती थपिएको बताए। उनीहरूले यस्तो अवस्थामा काम गर्ने वातावरण नहुने भन्दै दोषीलाई कारबाही गरी कानुनी राज्यको प्रत्याभूत गराउन माग गरेका थिए।
आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीले शनिबार दिउँसो दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका थिए।
नेकपा एमालेसम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले भदौ ११ गते दिउँसो साढे १ बजेतिर मेसु सिंहलाई कार्यकक्षमै प्रवेश गरी मोसो दलेका थिए।
यो पनि,
घटना भएकै दिन शुक्रबार नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले विज्ञप्ति निकालेर पार्टीको नीतिविपरीत उच्छृंखल क्रियाकलाप गरेको भन्दै परियार र क्षेत्रीलाई पदीय जिम्मेवारीबाट मुक्त गर्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए।
एमालेकै नेता तथा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठले पार्टी कसैको बिर्ता नभएको भन्दै परियार र क्षेत्रीमाथि गरिएको कारबाहीको सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए।
मेसुलाई मोसो दलेको अभियोगपछि फरार रहेका परियारले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लाइभ भिडिओमार्फत् अस्पतालको सेवा सुविधा र त्यहाँका चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीलाई गर्ने व्यवहारप्रति असन्तुष्टि पोखेका थिए।
उनले चिकित्सकहरूले निजी अस्पतालमा पैसाको लागि धेरै समय बिताउने गरेको र प्रादेशिक अस्पतालमा कममात्रै उपस्थित हुने हुँदा अस्पतालको सेवा सुविधा खस्किएको तथा अस्पताल रेफर सेन्टरमात्रै बनेको उल्लेख गरेका छन्।
परियारले डाक्टर नर्सलाई आफ्नो काम नरोक्न आग्रह गर्दै त्यसो गरे अनेरास्ववियुले नै अस्पताल बाहिर ओपिडीलगायत सेवा सुरू गर्ने र आन्दोलनमा उत्रने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई भौतिक कारबाही गर्ने चेतावनी पनि दिएका छन्। उनले प्रहरी प्रशासनका गाडी चल्न नदिने तथा भौतिक कारबाही गर्नेजस्ता चेतावनी पनि दिएका छन्।
परियार यसअघि पनि विभिन्न विवादमा मुछिदै आएका व्यक्ति हुन्। उनले झन्डै दुई वर्ष पहिले अनेरास्ववियु दाङका अध्यक्ष बिरबल खड्काको टाउकोमा हेलमेट प्रहार गरेका थिए। त्यस्तै तुलसीपुरस्थित एक टेक्निकल कलेजमा भएको तोडफोडमा समेत उनको नाम मुछिएको थियो।
मेसुमाथि भएको दुर्व्यवहारको विरोधमा अत्यावश्यक सेवा बाहेकका सेवा रोकेर डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिदै आएका छन्।
आइतबार उनीहरूले थप संघर्षका कार्यक्रम घोषणा गर्ने बताएका छन्।
प्रहरी प्रशासनले भने मेसुलाई कोलोमोसो दलेर फरार परियार र उनका साथीहरूको खोजी भइरहेको बताएको छ।