दाङमा थारू समुदायका महिलाहरूले श्रीकृष्ण जन्माष्टमी पर्व उल्लासपूर्वक मनाएका छन्।
भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा यो पर्व पर्ने हुँदा थारु भाषामा यसलाई ‘अष्टिम्की’ भन्ने गरिन्छ।
अघिल्लो दिन किशोरीहरू राम्रो श्रीमान पाउँ भन्नका लागि र महिलाहरू श्रीमानको सुस्वास्थ्य तथा दीर्घायूको कामनार्थ दिनभर ब्रत बस्छन्। बेलुका सात बजेदेखि पूजा सुरू हुन्छ। रातभर कृष्ण लिलासम्बन्धी गीत गाउने प्रचलन छ। सबै जना बत्ती बालेर जागराम बस्छन्।
पूजा गरिसकेपछि दही, फलफूल आफ्नो दाजुभाइलाई छुट्याउने प्रचलन छ।
अष्टमीको दोस्रो दिन बिहान थारू समुदायका लागि महत्वपूर्ण दिन हो। रातभरि जाग्राम बसेका महिलाहरू बिहानै उठेर भान्सामा पसेर पकाउन सुरू गर्छन्। उनीहरू सात प्रकारको तरकारी पकाउँछन्। गेडागुडी, सागपातको तरकारी पकाउने प्रचलन छ। अन्य पर्वमा थारु समुदायले माछा मासुलाई महत्व दिने गरेता पनि यो पर्वमा भने सागपातलाई विशेष प्राथमिकता दिने गरिन्छ।
उज्यालो भएसँगै पुनः कृष्णको पूजा सुरू गर्छन्। पूजा सकेपछि मौलिक भेषभूषामा महिलाहरू सजिएर लामबद्ध तरिकाले अष्टिम्की पूजा सामग्रीलाई गाउँको अगुवाको घरतिर लैजान्छन्। पूजा सकेपछि सामूहिक रूपमा सबैजना मिलेर नजिकैको जलाशय, खोला, नदी, तालमा फूलपाती सेलाउन (बगाउन) जान्छन्।
त्यसरी जाँदा उनीहरूले सालको पातको टपरीमा विभिन्न पूजा सामग्रीका साथमा टाउकोमाथि टिलपिल बलिरहेका ‘दीया’ दीयो बोकेर हिँडेका हुन्छन्।
नदी वा खोलामा त्यही बल्दै गरेका दीया उनीहरू बगाउने गर्छन्। सालको टपरीमाथि राखिएका ती दीया त्यसमा पानी नभरिँदासम्म बल्दै बगिरहन्छन्। फूलपाती सेलाएर रमाउँदै पुनः घर फर्किने गर्छन्।
घरमा अग्नि देवताको पूजा (आगोको पूजा)गरी सकेपछि पकाएको मीठा परिकार दाजुभाइको लागि छुट्याएर बर्तालुले खाने गर्छन्।
यो पनि:
थारु समुदायमा कृष्ण अष्टमी पर्वको महत्व