राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बिनोदसिंहलाई मोसो दलेको आरोपमा चार जना पक्राउ परेका छन्।
उनीहरुमध्ये दुई जनालाई दुई दिन अगाडि प्रहरीले घोराहीको रतनपुरबाट पक्राउ गरेको थियो।
नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको भनिएका अनेरास्वबियु जिल्ला संयोजक सर्जन परियार भने मंगलबार प्रहरीसमक्ष आफै उपस्थित भएका छन्। मंगलबार मध्यान्हः १२ बजेतिर सामाजिक सञ्जालमा 'स्ट्याटस' लेख्दै परियारले कानुनलाई सहयोग गर्ने उद्देश्यले आफू स्वयम् प्रहरीकोमा गएको उल्लेख गरे।
परियारले न्यायको पक्षमा, अन्याय र झुटा मुद्दाको बिरुद्धमा हिरासतभित्रै भोक हडताल गर्ने घोषणा पनि गरेका छन्।जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार मेसु सिंहलाई कार्यकक्षमै मोसो दल्ने डिल्ली डाँगी र अनेरास्वबियुका जिल्ला सहसंयोजक दिवश क्षेत्रीसहित दुई जना दुई दिन अगाडि नै पक्राउ परेका थिए।
‘मोसो दलिदिने मुख्य व्यक्ति डाँगी हुन् र डाँगीलाई नै हामीले पक्राउ गरिसकेपछि अरु पनि प्रहरी सम्पर्कमा नआई सुख नै छैन,’ एपपी काफ्लेले भने। तर, पीडित मेसु सिंहले घटना भएको केही बेरपछि सेतोपाटीसँग कुराकानी गर्दै परियारले नै आफूलाई मोसो दलेको बताएका थिए ।
एसपी काफ्लेले घटनामा संलग्नमध्ये तीन जना मात्रै पक्राउ परेको र अरु फरार रहेको बताए पनि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने हालसम्म चार जना पक्राउ परेको स्पष्ट पारे।
‘दुई जनालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो र आज थप दुई जना प्रहरीसमक्ष आफै आएका हुन्’ प्रजिअ कुरुम्बाङले भने ‘अब घटनामा संलग्न अरु दुई जना फरार छन्।’
तर, एसपी काफ्लेले भने घटनामा दश जना जतिको संलग्नता देखिएको र अरु सबै फरार रहेको जानकारी दिए। मोसो दल्ने घटनामा संलग्न सबैबिरुद्ध स्वास्थ्यकर्मीको सुरक्षा सम्वन्धी अध्यादेश २०७८ अनुसार मुद्दा दायर गरिएको प्रजिअ कुरुम्बाङले बताए। जसमा बढीमा १ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ। ‘यो मुद्दा मकहाँ आउने छ,’ प्रजिअ कुरुम्बाङले भने ‘ केशको अवस्था हेर्दा कम्तिमा ५/६ महिनादेखि १ वर्षसम्म जेल सजाय हुने खालको छ।’
अब काममा फर्कन्छौं – स्वास्थ्यकर्मी
घटनाका योजनाकार मानिएका मुख्य व्यक्ति आफै प्रहरीमा पुगेपछि शनिबारदेखि काम रोकेर सडक संघर्ष गर्दै आएका जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अब काममा फर्किने भएका छन्।
कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले आन्दोलन रोकेर काममा फर्किने निर्णय भएको बताए। ‘अब आन्दोलनका कार्यक्रम रोकेर काममा फर्किने निर्णय गरेका छौं,’ वलीले भने। मेसु सिंहलाई कार्यकक्षमै मोसो दलिएपछि जिल्लाका सम्पूर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु काम रोकेर आन्दोलनमा उत्रिएका थिए।
उनीहरुले शनिबार दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका थिए। आइतबार तुलसीपुरमा र सोमबार घोराहीमा हातमा कालोपट्टी बाँधेर प्लेकार्डसहित नाराबाजी गर्दैै उनीहरु प्रदर्शनमा उत्रिएका थिए। उनीहरुको बुधबार लहमीमा प्रदर्शन गर्ने योजना बनाएका थिए।