अमेरिकाको न्यू योर्क र न्यू जर्सीमा आँधी आउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ।
बुधबार आएको आँधीका कारण ६ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। साथै न्यू योर्क र न्यू जर्सीका गभर्नरहरूले आपतकालीन घोषणा गरेका छन्।
रोयटर्सका अनुसार न्यू जर्सीमा दुई जना र न्यू योर्कमा चार जनाको मृत्यु भएको हो।
आँधीपछि त्यहाँ भारी वर्षात भएको थियो। न्यू योर्कका केही क्षेत्रमा तीन इन्चको पानी परेको बीबीसीले जनाएको छ। त्यसपछि आएको बाढीले सडक समेत भत्किएका छन्।
'आज राति आएको आँधीले क्षति पुर्याएका न्यू योर्करहरूलाई सहयोग गर्न मैले आपतकालीन अवस्था घोषणा गरेको छु,' न्यू योर्कका गभर्नर क्याथी होचुले ट्विटरमार्फत् भने।
अहिले त्यहाँका विभिन्न भिडिओ तथा तस्वीरहरू समेत सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। जसमा सबवे स्टेसन, घर तथा सडकमा बाढी आएको देखिन्छ।
त्यहाँको मुल्लिका हिलमा आएको आँधीले कम्तीमा पनि नौ घर ध्वस्त बनाएको छ। अहिलेसम्म कति जना मानिस घाइते भएका छन् भन्ने खुलेको छैन। उद्धारकर्ताहरू विभिन्न क्षेत्रमा खटिएका छन्।