महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् ट्राफिक जरिवाना भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ।
बिहीबार काठमाडौंमा आयोजित क्यूआर पेमेण्ट कार्यक्रमको शुभारम्भ गर्दै महाशाखाले अब ट्राफिक जरिबाना क्यूआर पे मार्फत् तिर्न सक्ने व्यवस्थाको सुरूआत गरेको हो।
महाशाखाले भोलि (शुक्रबार) देखि लागू हुन गरी कारबाहीमा परेका सवारी साधनका चालकहरूले ट्राफिक प्रहरीको चिटमा छापिएका क्यूआर कोडमार्फत् रकम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।
उनका अनुसार आफूसँग सुविधा भए चिटको क्यूआर कोडलाई स्क्यान गरेर कारबाहीको रकम भुक्तानी गर्न सकिन्छ।
प्रमुख भट्टराईले ट्राफिक प्रहरी अब कारबाही गर्दा डकुमेण्ट नै लिनु नपर्ने प्रविधि विकास गर्न लागिरहेको बताए।
प्रमुख भट्टराईले क्यूआर कोडमार्फत् आफैं भुक्तानी गर्न मिल्ने व्यवस्था केही दिनका लागि ग्लोबल आईएमई बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने र निकट भविष्यमै अन्य ५० भन्दा धेरै बैंक तथा प्रविधिमैत्री बन्दै गएपछि देशभरमा रहेका सबै बैंकबाट कारबाहीको रकम भुक्तानी गर्न सकिने बताए।
प्रमुख भट्टराईले यो प्रविधिले सम्पूर्ण चालक र ट्राफिक प्रहरीहरूलाई सहयोग पुर्याउने बताए।
उनले ट्राफिक प्रहरीले बनाएको प्रविधितर्फ जाने योजनाले भविष्यमा अन्ततः अनलाइनबाटै सबै कुरा गर्न मिल्ने व्यवस्थामा पुग्ने बताए।