रूकुम पश्चिमकको सिस्ने हिमाल बालगृहमा बस्दै आएकी एक १२ वर्षीया बालिकालाई बालगृह सञ्चालकका छोरा रवि भनिने कुस्माकर चनाराले बलात्कार गरेको पाइएको छ।
बलात्कारमा परेकी ती बालिकाको पेटमा १० साताको गर्भ रहेको आठबीसकोट नगर अस्पतालको स्वास्थ्य रिपोर्टबाट खुल्न आएको हो।
आठबीसकोट नगरपालिका- ११ स्थित सिस्ने हिमाल बालगृहमा बस्दै आएकी ती बालिकाले बालगृह सञ्चालकका छोराले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन्।
बालिकाले दिएको जाहेरीमा हाल काठमाडौं बस्दै आएका चनाराले आफूलाई पटक/पटक बलात्कार गर्दै आएको उल्लेख छ।
२०७७ र २०७८ सालको लकडाउनको समयमा रविले आफूमाथि जबरजस्ती करणी गरेको र कतै भनेमा ज्यान मार्ने धम्की दिएकाले आफूले कसैलाई यसबारे केही भन्न नसकेको उनको जाहेरीमा उल्लेख छ।
रविकै लगातारको बलात्कारले गत असारदेखि आफ्नो महिनावारी बन्द भएको बालिकाले प्रहरीमा उजुर गरेकी हुन्।
रवि आठबीसकोट नगरपालिका-१० का वडाध्यक्ष गंगाराम चनाराका छोरा हुन्। सिस्ने हिमाल बालगृह रविकी आमा सुनिता चनाराले चलाउँदै आएकी छन्।
अनाथ, असहाय र टुहुरा बालबालिकाको संरक्षण गर्न भनेर खोलिएको उक्त बालगृहको उद्घाटन नेकपा माओवादीका नेता एवं अर्थमन्त्री जर्नादन शर्माले गरेका थिए। स्रोतका अनुसार ती बालिकालाई धर्मछोरी बनाएर शर्माले नै उक्त बालगृहमा संरक्षण तथा शिक्षा-दिक्षाका लागि भनेर २०७४ सालदेखि राखेका थिए।
बालगृह सञ्चालक सुनिता चनाराले आफूहरूलाई विभिन्न खाले श्रमशोषण समेत गर्ने गरेको बालिकाले बताएकी छन्। बालिकाका अनुसार चनाराले आफ्नो ओखर खेतीमा, कुखुरा फार्म लगायतमा काम लगाउने गरेकी छन्।
कुखुराको खोरमा दाना हाल्न गएको समयमा रविले आफूलाई पछाडिबाट समातेर मुख थुनी पहिलोपटक जबरजस्ती करणी गरेको बालिकाको जाहेरीमा उल्लेख छ।
पेटमा गर्भ रहेको थाहा भएपछि आठबीसकोट नगरपालिकाको न्यायिक समितिकी संयोजक गीता नेपालीले बालिकालाई अस्पताल पुर्याएर जाँच गराउने तथा पीडकविरूद्ध प्रहरीमा निवेदन दिन सघाएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले हाल काठमाडौंमा बस्दै आएका २२ वर्षीय रविको खोजी तीव्र पारेको जनाएको छ।