म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ।
गएराति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युत्को विद्युतगृह बगाएको हो।
वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो र बाढीका कारण लघु जलविद्युत् परियोजना बगाउँदा करिब एक करोड ५० लाख रूपैयाँ बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए। उनका अनुसार दुई वर्षअघि पुनर्निर्माण गरिएको उक्त परियोजनाबाट ३७८ घरधुरीले विद्युत् सेवा उपभोग गर्दै आएका थिए।
मध्यरातमा अविरल वर्षासँगै आएको बाढीले विद्युतगृहको भवन लगायतका महत्वपूर्ण सामान बगाएको छ।
बाढीले परियोजनाको बाँध र नहरमा समेत ठूलो क्षति पुर्याएको छ।
बाढीले तटीय क्षेत्रको जमिन र बस्तीमा समेत क्षति पुर्याएको छ। लघु जलविद्युतको विद्युतगृह बगाएपछि स्थानीय बस्ती अन्धकार बनेको र स्थानीयबासीको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको स्थानीय लुलाङ आधारभूत विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले जानकारी दिए।
'यहाँ केन्द्रीय प्रसारणको पहुँच छैन, लघु जलविद्युत् बगाएपछि मोबाइल चार्ज र साँझमा बालबालिकालाई अध्ययनमा समेत समस्या हुने भएको छ', प्रअ ठाकुरले भने।
बाढीले लघु जलविद्युतमा पुर्याएको क्षतिको अवस्थाबारे अहिले स्थानीय जनप्रतिनिधि, युवा क्लबलगायत प्रतिनिधिको टोली निरीक्षण गर्न खटिएको गाउँपालिकाले जनाएको छ।
वि.सं २०७२ साउनमा जुगेपानीमा आएको पहिराले विद्युतगृह र नहर बगाएर बन्द भएको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना दुई वर्षअघि एक करोड ५२ लाख रूपैयाँको लागतमा पुनर्निर्माण गरिएको थियो।
लुलाङ, खोरीया, मेरनी र लमसुङका स्थानीयबासीले यस परियोजनाबाट लाभान्वित भएका थिए।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ८५ लाख रूपैयाँ र धवलागिरि गाउँपालिकाले ५० लाख रूपैयाँ सहयोगमा स्थानीयबासीले जनश्रमदानसमेत गरेर यस परियोजनाको क्षमता बढाएर पुनर्निर्माण गरेका थिए। रासस