सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर-दक्षिण कोशी राजमार्ग अवरूद्ध भएको छ।
गत शनिबारदेखि भोटखोला जाने उत्तर-दक्षिण कोशी राजमार्ग अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।
पहिराका कारण सदरमुकाम खाँदबारीबाट गाउँपालिका जाने उत्तर-दक्षिण सडकखण्ड एक सातादेखि अवरूद्ध भएको छ।
उत्तर-दक्षिण सडकखण्डको मकालु गाउँपालिका र भोटखोला गाउँपालिका सीमाना मकालु–३ हाइटारमा पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।
पहिरो हटाउन पहल भइरहेको प्रजिअ पौडेलले बताए।
अहिले पनि त्यस क्षेत्रमा निरन्तर पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनियर गौतमकुमार श्रेष्ठले जानकारी दिए।
उनले भने, 'हामीले पहिरो हटाउन मकालु–३ हाइटार नजिकै तीन वटा स्काभेटर लगेका छौं, तर पहिरो खस्ने क्रम नरोकी कारण सडक कहिले खुल्छ भन्ने यकिन हुन सकेको छैन।'
सडक अवरूद्ध भएपछि भोटखोलासँग सम्बन्ध टुटेको छ। अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालुको हेदाङनागढीसम्म चलिरहेको उनले बताए।
सडकखण्ड अवरूद्ध भएपछि मकालुका केही वडा र भोटखोलामा यातायात सेवा बन्द भएको छ।
पहिराका कारण सदरमुकाम खाँदबारीबाट भोटखोलाको हटिया पुगेको आधा दर्जन सवारी र खाद्यान्न बाकेर गएका ट्रयाक्टर हटियामै रोकिएका स्थानीयबासीले बताएका छन्। रासस