बाँके राष्ट्रिय निकुञ्जभित्र मान्छेको ज्यान लिने बाघको निगरानीका लागि दुइटा हात्ती ल्याइने भएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरस्थित भट्टेखोला किनारमा दुई बाघ रहेको हुँदा उनीहरूको निगरानीको लागि बाँके राष्ट्रिय निकुञ्जबाट दुई हात्ती ल्याइने भएको छ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले गाभर क्षेत्रमा निगरानीको लागि दुइटा हात्ती पठाइसकेको सेतोपाटीलाई बताए।
‘हात्ती भएको ठाउँमा अक्सर बाघ आउँदैन र हात्ती देखे बाघ सकभर टाढै भाग्छ भन्ने मान्यता छ,’ शाहले भने, ‘त्यसैले हात्तीबाट निगरानी गर्ने र हात्तीको सहयोगमा ती बाघलाई निकुञ्ज क्षेत्रको अलि घना जंगल क्षेत्रमा डोर्याउने प्रयास हुनेछ।’
बाघ राजमार्ग क्षेत्रमा आउन नपाओस् भनेर सुरक्षा निकाय खटाइएको उनले जानकारी दिए।
‘हाम्रो टोली दुई सय मिटर नजिक पुग्दा समेत ती दुई बाघ विचलित भएको देखिएन,’ शाहले भने, ‘ती बाघ फेरि राजमार्ग क्षेत्रमा आएर अरु घटना हुन नपाओस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।’
निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहका अनुसार सिकार गरेपछि बाघ बचेको सिकार खानका लागि पटक/पटक घटनास्थलमा आउने गर्छ। त्यसैले ती बाघ फेरि पनि घटनास्थलमा आउने सम्भावना रहेको हुँदा ती बाघको निगरानीको लागि घर पालुवा हात्तीबाट निगरानी गर्न लागिएको शाहले तर्क गरे।
‘सिकार गरेपछि बाघलाई पानी पनि धेरै चाहिन्छ,’ शाहले भने, ‘अहिले चर्को गर्मी पनि छ। त्यसैले ती बाघ पानी पनि पर्याप्त रहेको भट्टे खोला किनारमा बसिरहेको हुनुपर्छ।’
बाघलाई निकुञ्जको घना क्षेत्रमा डोर्याउने प्रयास हुने र त्यो प्रयास सम्भव नभए डार्ट गरेर समात्न प्रयास समेत गरिने शाहले जानकारी दिए।
‘बाघ निरन्तर राजमार्ग क्षेत्रमा आउन प्रयासरत रह्यो भने फेरि घटना हुने खतरा रहन्छ। त्यतिखेर हामीले त्यसलाई नियन्त्रणमा लिन प्रयास गर्नेछौं,’ शाहले भने, ‘हैन बाघ राजमार्गदेखि टाढै निकुञ्ज क्षेत्रमै प्रवेश गर्यो, त्यतै रहिरह्यो भने बाघ नियन्त्रणमा लिने छैनौं।’
त्यही सोचका साथ बाघ नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली झिकाइएको शाहले जानकारी दिए।
‘हामी हात्तीमार्फत् दुई चार दिन ती बाघहरूको आनीबानी निरन्तर निगरानी गर्छौं,’ शाहले भने, ‘यदि उनीहरू राजमार्ग क्षेत्रमा आउन प्रयास गरिरहे भने त्यसले अवश्य पनि त्रास र जोखिम निम्त्याउने छ। त्यस्तो बेला प्राविधिक टोलीले डार्ट गरी ती बाघ नियन्त्रणमा लिनेछ।’
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले भट्टे खोला किनारमा निर्धक्क बसिरहेका ती दुई बाघ वयस्क बाघ रहेको बताए।
‘मैले करिब दुई सय मिटर नजिक गएर ती बाघ नियाले पनि लिंग पहिचान भने गर्न सकिनँ,’ शाहले भने, ‘ती यी बाघ भर्खरै माउबाट छुट्टिएर स्वतन्त्र रूपमा विचरण र सिकार गर्दै हिँडेका बाघ हुन्।’
भर्खरै माउबाट छुट्टिएका वयस्क बाघ भएको हुँदा उनीहरूले आफ्नो एरिया नबनाउँदासम्म स्वतन्त्रपूर्वक विचरण गर्ने र सिकार गर्न बानी नभइसकेको हुँदा इजी सिकार रोज्ने खतरा रहने उनले बताए।
केही दिनमै गाभर क्षेत्रमा चार वटा जति गाई, केही स्थानीयका बाख्रा र मानिस समेत खाएको हुँदा घटना क्रममा त्यही कुरा पुष्टि गरेको शाहले तर्क गरे।
‘होटल सञ्चालकका अनुसार बाघले खाएका ती भारतीय नागरिक पनि शौचालय नगई साँझ बिहान शौच गर्नको लागि जंगल जान्थे भन्ने कुरा खुल्न आएको छ,’ शाहले भने, ‘बेलुकापख ती व्यक्ति एक्लै जंगलबीचको राजमार्ग क्षेत्रमा डुल्ने तथा बस्ने गर्नुले बाघले आक्रमण गरेको देखिन आएको छ।’
यसैबीच मान्छे मारेका दुई बाघ राजमार्ग नजिकै गाभरको भट्टे खोला किनारमा बसिरहेको हुँदा बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वपश्चिम राजमार्गमा रात्रिकालीन समयमा साना सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको छ।
‘हामीले आजै बेलुका सूर्य अस्तदेखि सूर्य नउदाउँदासम्म साना सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेका छौं,’ शाहले भने, ‘अब अर्को सूचना जारी नहुँदासम्म उक्त समयमा खुला सवारी साधन टेम्पो, मोटरसाइकल, साइकलबाट यात्रा गर्न पाइने छैन।’
उज्यालोमा भन्दा बाघले झुसमुसे साँझमा र सूर्योदय तथा आसपासका समयमा बढी जसो सिकार गर्ने हुँदा साना गाडी रात्रिकालीन समयमा चलाउन प्रतिबन्ध लगाइएको शाहले बताए।
दिउँसोमा साना गाडी सञ्चालन गर्दा ठूला गाडीको बीचमा हुने गरी र समूहमा मात्रै सञ्चालन गर्न निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाको तीन वटै युनिटलाई आग्रह गरिसकेको शाहले जानकारी दिए।
बन्द गाडी बस, ट्रक, जीप, कारका सीसा पूरै लक गरी निश्चित र तोकिएको गतिमा मात्रै चलाउन पाउने नियम लागु गरिएको शाहले बताए।
बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाघको आक्रमणबाट ज्यान गुमाएका ती भारतीय नागरिकको नाम र ठेगाना अझै खुल्न नसकेको बताए।
‘ती मानिस हिँड्दै गर्दा गाभरको एक होटलमा विगत ६ महिनादेखि काम गर्ने र त्यही बस्दै आएको भन्नेछ,’ अधिकारीले भने ‘मृतकको आफन्तहरू अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको हुँदा सनाखत हुन गाह्रो पर्ला जस्तो छ।’
अन्दाजी ५० वर्ष जतिका ती व्यक्तिको मानसिक सन्तुलन समेत ठिक नरहेको भनेर होटल सञ्चालक र स्थानीयले समेत जानकारी दिएको एसपी अधिकारीले बताए।
यो पनि :
फेरि बाघले बाँकेमा मान्छे खायो