नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढेसँगै गत वैशाखदेखि बन्द रहेका काठमाडौंका संग्रहालय खुल्न थालेका छन्।
राजधानीका नारायणहिटी दरबार संग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय संग्रहालय, मुद्रा संग्रहालय र हनुमानढोका दरबार संग्रहालय स्वास्थ्य मापदण्ड पालना गरी खुला गरिएको हो। संग्रहालय खुला गरेसँगै अवलोकनकर्ताको भिड लागेको छ।
नारायणहिटी दरबार संग्रहालय र गणतन्त्र स्मारक हप्तामा छ दिन खुला हुन्छ।
बुधबार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ। मंगलबार भने आधा दिन खुला गरिने गरेको संग्रहालयका प्रमुख कार्यकारी अधिकृत भेषनारायण दाहालले जानकारी दिए।
हनुमानढोका दरबार हप्तामा सातै दिन सार्वजनिक बिदाका दिन पनि खुला हुने गरेको छ।
दरबारको ढुकुटी भवनमा गरगहनासम्बन्धी प्रदर्शनी जारी छ। दरबार क्षेत्रभित्रका नासलचोक, लोह चोक, पुतली बगैंचा अवलोकनका लागि खुला गरिएको छ।
हनुमानढोका दरबार क्षेत्रमा विदेशी प्रवेशको टिकटको शुल्कको २५ प्रतिशत डेढ वर्षदेखि काठमाडौं महानगरपालिकाले संग्रहालयलाई दिएको छैन।
महानगरसँग सम्झौता भएअनुसार रु तीन करोड ५० लाखभन्दा बढी पैसा लिन बाँकी रहेको हनुमानढोका दरबार संग्रहालयका प्रमुख सन्दीप खनालले जानकारी दिए।
महानगरले पैसा नदिएपछि संग्रहालयले पनि टिकट काट्न सुरू गरेको छ। संग्रहालय प्रवेश गर्दा अब विदेशीले रु ३०० र नेपालीले रु ३० को टिकट काट्नुपर्छ।
महानगरले भने हनुमानढोका दरबार क्षेत्र प्रवेश गरेको रु एक हजार शुल्क विदेशीसँग लिने गरेको छ। रासस