बाँकेमा राजमार्ग क्षेत्रबाटै झम्टिएर मानिसको ज्यान लिने बाघ नियन्त्रणमा लिने प्रयास अझै सफल भएको छैन।
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्ती सोनारी गाउँपालिका वडा नं. १ गाभरमा अन्दाजी ५० वर्षीय एक भारतीय नागरिकलाई भदौ २७ गते बेलुका पाटे बाघले राजमार्ग क्षेत्रबाट झम्टिएर ज्यान लिएको थियो।
भदौ २८ गते बिहान राजमार्ग नजिकै ती व्यक्तिका खुट्टा मात्रै फेला परेको थियो।
घटनापछि बाघ नियन्त्रणमा लिन भनेर बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली दुइटा घर पालुवा हात्तीसहित निकुञ्जको गाभर क्षेत्रमा खटिँदै आएको छ।
निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार शाहले बाघ नियन्त्रणमा लिन भनेर मंगलबारदेखि नै प्राविधिकसहितको सुरक्षा टोली गाभर क्षेत्रमा अस्थायी रूपमा पोष्ट खडा गरी बस्दै आएको भए पनि बिहीबार बिहानसम्म सफलता नमिलेको बताए।
उनले मानिसमाथि आक्रमण गरी ज्यान लिने बाघ नियन्त्रणमा लिनको लागि राँगो प्रयोग गरिएको जानकारी दिए।
‘बुधबार बिहान हाम्रो क्यामेरामा बाघ कैद भएको छ,’ शाहले भने, ‘त्यही भएर हामीले सोही ठाउँमा बेलुका राँगो राख्यौं, तर, रातभर बाघ आएन।’
गाभर क्षेत्रमा निरन्तर बाघ देखिँदा स्थानीयबासी त्रसित भएको हुँदा सकभर आफूहरू बाघ नियन्त्रणमा लिन प्रयासरत रहेको शाहले बताए।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको उत्तर दक्षिण दुबैतर्फ जंगल रहेको छ।
गाभर क्षेत्रमा उत्तरतर्फको जंगलमात्रै राष्ट्रिय निकुञ्ज भए पनि दक्षिण क्षेत्रमा करिब ५ सय मिटरको दूरीमा राप्ती नदी रहेको हुँदा सोही बाटो वन्यजन्तु परापूर्वक कालदेखि ओहोरदोहोर गर्ने गरेको शाहले बताए।
भविष्यमा पनि पानी खान आउजाउका लागि बाघ लगायतका वन्यजन्तु राजमार्ग वारपार गरिरहने हुँदा दक्षिण तर्फको अव्यवस्थित बस्ती व्यवस्थापन गर्न आवश्यक रहेको उनले तर्क गरे।
सम्बन्धित समाचार :
बाँकेमा मान्छे खाने बाघको निगरानी गर्न दुइटा हात्ती खटाइने
फेरि बाघले बाँकेमा मान्छे खायो